नक्कली भुटानी शरणार्थी प्रकरण :एमाले सचिव रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएपछि नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

यो प्रकरणमा पक्राउ परेकासँगको वयानका आधारमा रायमाझी र उनका छोरालाइे अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको हो । जिल्ला अदालत काठमाडौंबाट काठमाडौं प्रहरी परिसरले अनुसन्धानका लागि बुधबार पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । सन्दीपले एक करोडको चेक लिएको स्रोतको दावी छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका उपराष्ट्रपति कार्यालयका सचिव तथा गृह सचिवसमेत भइसकेका टेक नारायण पाण्डे जिल्ला प्रहरी परिसर टेकुमा बुधबार उपस्थित भएका छन् । प्रहरीले पक्राउ गर्ने भएपछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन् ।

यसअघि नै तत्कालीन गृहमन्त्री तथा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन् । राईका छोराविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग रकम असुलेको गिरोहबाट आर्थिक लाभ लिने ठूलो समुहविरुद्ध प्रहरीले कारवाही अघि बढाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : १७ बजे