हाम्रो लक्ष्य : प्रतिस्पर्धासहितको श्रेष्ठता



आमसंचारका माध्यम समाजका दर्पण हुन् । अखवारी संचारमाध्यमको प्रादुर्भावसँगै रुपमा यो पत्रकारिता भयो तर बिद्युतीय माध्यम र अनलाइन पोर्टलले आमसंचारलाई बिस्तारित गरेका छन् । प्रविधिको यही अत्याधुनिक प्रयोगमार्फत् जनतालाई सूचना प्रवाह गर्ने संचारमाध्यमका रुपमा हामी आएका छौं ।

हामी पत्रकारिता गर्छौं, सत्य सूचना प्रवाह गछौं । तथ्यलाई अघि सारेर सत्य् उद्घाटनको प्रयास गछौं । हामी कुनै बिचारधाराका बन्दी छैनौं, मुद्दाका आधारमा समाचारको सम्प्रेषण गछौं । तथ्यसहितका अन्तरबस्तुबाट निश्कर्ष निकाल्ने अधिकार हामी पाठकलाई दिन्छौं । तर त्यति गर्दागर्दै पनि राष्ट्र र समाजप्रति संचारकर्मीका हैसियतमा केही मौलिक र सर्वमान्य दायित्व हुन्छन् ।
संविधानसभाबाट निर्मित संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताका जगमा देश र जनताका पक्षमा पैरवी गर्नु हाम्रो अधिकार हो र प्रमुख प्राथमिकतापनि । समाजवादउन्मुख संविधानमार्फत् तय गरिएको विकास र समृद्धिको यात्राका हामी सारथी हौं । राजनीतिक उदेश्यप्राप्तिका लागि भएका आन्दोलनपछि नेपाल अहिले आर्थिक विकासको चरणमा प्रवेश गरेको छ । आर्थिक विकास नेपालका सबै राजनीतिक दलका साझा एजेण्डा हुन् । यसमा कुनै पनि वहानामा राजनीतिक बिभाजन आवश्यक छैन । हामी आर्थिक विकास र समृद्धिको वहस गछौं, हाम्रो अनलाइनले त्यस्तो वातावरण निर्माण गर्नेछ ।

एउटा नागरिकका लागि उसको भौगोलिक पहिचान महत्वपूर्ण हुन्छ । कहिले कसैको उपनिवेश नभएको नेपालको गौरवपूर्ण इतिहास छ । विकासमा पछि छौं, तर पहिचानमा पछि छैनौं । नेपालीको पहिचान विश्वमा स्थापित छ । सर्वोच्च शिखर सगरमाथाको देश, विश्वशान्तिका प्रवद्र्धक गौतम बुद्ध जन्मेको देश र बीर गोर्खालीको देश भनेर नेपाल चिनिन्छ । यी ऐतिहासिक पहिचानसँगै समय विकासका क्रममा नेपालीको पहिचान थप स्थापित भएको छ भने नेपाल विश्वमा सुनिन थालेको छ । हामी नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर समाचार प्रवाह गछौं । सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वतन्त्रतामा नेपालले कुनै मुलाहिजा गर्नुहुँदैन भन्ने हाम्रो प्रष्ट मान्यता छ ।

राष्ट्रको चौथो अंग मानिने प्रेसलाई सामान्यत् प्रतिपक्षका रुपमा सत्तापक्षले लिने गरेको देखिन्छ । सत्तापक्ष होस् वा प्रतिपक्ष, आलोचनात्मक चेतको विकास भएनभने समाजले विकास गर्दैन । सकारात्मक कामको प्रशंसा र गलत कामको आलोचनानै मिडियाको ‘एबीसी’ हो । समाजका सबै बर्गको उपयुक्त प्रतिनिधित्व र आवाजविहिनको आवाज बन्ने हाम्रो प्रयास रहनेछ ।
अनलाइनको भिडमा एउटा अनलाइन थपिएको छ भन्ने होइन, हामी गुणात्मक प्रतिस्पर्धासहित श्रेष्ठता हासिल गर्ने लक्ष्यकासाथ अघि बढ्नेछौं । यो यात्रामा तपाईहरुका सुझाव हाम्रा लागि महत्वपूर्ण हुनेछन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ११ : २२ बजे