आङ सान सुकी भ्रष्टाचार काण्डमा दोषी ठहर



याँगुन, वैशाख १४ – सैनिक शासित म्यान्मारको एक अदालतले पूर्वनेता आङ सान सुकीलाई भ्रष्टाचार काण्डमा दोषी ठहर गरेको छ । उनीविरुद्ध चलिरहेका श्रङ्खलावद्ध मुद्वाको यो एउटा पछिल्लो निर्णय हो ।

सन् २०२१ को फ्रेब्रुअरीमा सेनाले म्यान्मारमा सुकीको जन निर्वाचित सरकारलाई अपदस्थ गरेयता उनलाई नजरबन्द बनाइएको छ ।

शान्तिका लागि नोवेल पुरस्कार विजयी ७६ वर्षीया सुकीविरुद्ध चुनाव धाँधलीलगायत थुप्रै आपराधिक कार्यको अभियोग लगाइएको छ । उनले आफुविरुद्ध लगाइएका सम्पूर्ण अभियोग अस्वीकार गर्दै आएकी छन् ।

मानव अधिकारवादी समूहहरुले अदालतमा उनीविरुद्ध चलाइँदै गरेका मुद्दा जालसाजी भन्दै आलोचना गरेका छन् ।

राजधानी नेपितस्थित अदालतमा गोप्य रुपमा भएको मुद्धा सुनवाईमा सर्वसाधारण र संचार माध्यमलाई प्रवेश निषेध गरिएको थियो । साथै सुकीका वकिलहरुलाई पनि पत्रकारहरुसँग बोल्न मनाही गरिएको थियो

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ४ : ४८ बजे