नासाका अन्तरिक्षयात्री मार्क भेन्ड हेइ सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बस्ने अमेरिकी बनेका छन् । ३ सय ५५ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बिताएर उनी बुधबार दुई रुसी अन्तरिक्ष यात्रीसहित पृथ्वी फर्केका हुन् ।
बुधबार काजकस्तानको स्थानीय समय अनुसार साँझ ५:२८मा रुसी अन्तरिक्षयात्रीद्वय एन्टोन स्कापलेरोभ र प्युटर डुब्रोभसँगै पृथ्वी फर्किएका हुन् । उनीहरु रुसी अन्तरिक्षयान सोयूज एमएस-१९ मार्फत पृथ्वी फर्किएका हुन् ।
मार्कको अन्तरिक्ष मिसनलाई नासाले ऐतिहासिक कीर्तिमान मात्र नभएर भविष्यमा चन्द्रमा, मंगल ग्रह र अन्तरिक्ष अन्वेषणका लागि पनि महत्वपूर्ण भएको नासाका प्रशासक बिल नेल्सनले बताएका छन् । नासाद्वारा जारी सूचनामा प्रशासक नेल्सनले भनेका छन्,’हाम्रा अन्तरिक्षयात्रीहरुले विज्ञान, अन्वेषण, प्रविधि विकासका लागि अनेकौं त्याग गरेका छन् । अन्तरिक्ष केन्द्रमा करिब एक वर्षसम्म बिताउँदा महत्वपूर्ण योगदान गरेका छन् । ‘
भेन्ड हेईको मिसनले अन्तरिक्षमा लामोसमयसम्म रहँदा मानिसलाई पर्ने प्रभावको अध्ययन र अनुसन्धानमा सघाउ पर्याउने नासाले जनाएको छ । नासाले आर्टमिस कार्यक्रम अन्तर्गत चन्द्रामा मिसनको तयारी गरिरहेको छ । नासाले सन् २०२४मा चन्द्राममा आफ्नो मानव मिसन गर्दै छ ।
अन्तरिक्षयात्री मार्क सन् २०२१ को अप्रिल ९मा अन्तरिक्ष गएका थिए । उनीसँगै दुई रुसी कस्मोनट्सहरु: ओलेग नोभिट्सकी र प्योटर डुब्रोभ पनि गएका थिए । उनको यो दोस्रो अन्तरिक्ष मिसन हो । यसअघि उनी ३४० दिन अन्तरिक्षमा बिताएका थिए । मार्कले आफ्नो जीवनकालमा ५२३ दिन अन्तरिक्षमा बिताएको नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया