सदस्यबाट सय रुपैयाँ उठाएर माओवादीले कार्यालय विस्तार गर्ने




काठमाडौ, जेठ २२ — नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय विस्तार गर्न पार्टी सदस्यहरूबाट न्यूनतम १०० रुपैयाँ उठाउने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले भौतिक संरचना निर्माणसहित कार्यालय विस्तार र व्यवस्थित गर्ने निर्णय गरेको हो । सदस्यबाट न्यूनतम १०० रुपैया उठाउने र सक्नेले त्योभन्दा बढी पनि दिन सक्ने निर्णय गरेको नेता शक्ति बस्नेतले जानकारी दिए । केन्द्रीय कार्यालय पेरिसडाँमा संरचना निर्माण र व्यवस्थित गर्नका लागि प्रदेश कमिटीहरूलाई १ महिनाभित्र रकम उठाइसक्न भनिएको उनले बताए ।

वैठकमा पार्टी पद्याधिकारी नियुक्ति गर्नवारे भने छलफल भएन । विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को विवाद मिलाउने जिम्मा अध्यक्ष दाहाललाई दिइएको छ । महासचिवलगायत पदाधिकारी चयनको विषयमा माओवादीको विद्यार्थी संगठन क्रान्तिकारीमा विवाद छ । दाहालले दुवै पक्षलाई बोलाएर विवाद समाधान गर्ने बस्नेतको भनाइ थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ४ : ०४ बजे