मन्त्रिपरिषद् निर्णय

विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गरिने



काठमाडौँ, १५ असार (रासस) – सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यसम्पादन करार निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

सरकारका प्रवक्ता कार्कीले मन्त्रिपरिषद्ले वीरगञ्ज–सिमरा–पोखरिया प्रसारण लाइनको टावर तथा सवस्टेसनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकार तोक्नेसमेत निर्णय गरिएको बताउनुभयो । मन्त्रिपरिषद्ले उपत्यकाभित्रका प्रसारण लाइन तथा सवस्टेशनमा संरचनागत सुधार, स्तरोन्नति तथा विस्तार गर्नका लागि जग्गाप्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकार तोक्ने पनि निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७९ को मस्यौदा उपर लोकसेवा आयोगको परामर्श लिने, मध्यभोटेकोसी जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइनका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । प्रवक्ता कार्कीले कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने, भेडेटार स्काई वाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुख हटाउने सम्बन्धमा निर्णय गरिएको बताउनुभयो ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा शीतल साहु पूर्वे (धनुषा) लाई नियुक्त गर्ने, निजामती सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने र श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ५ : ४० बजे