-श्रीलंका संकट-

विक्रमसिंघे भए श्रीलंकाका नयाँ राष्ट्रपति



४ साउन – प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई संसदले श्रीलंकाली राष्ट्रपति चयन गरेको छ ।

नागरिकले विक्रमसिंघेले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् ।

उनले १३४ मत पाए भने निकटतम प्रतिद्वन्द्वी दलस अलापेरुमाले ८२ मत पाएका छन् । २२३ सांसद रहे पनि २ जना सांसद मतदानमा अनुपस्थित भए भने ४ मत बदर भयो ।

राष्ट्रपति निर्वाचित भएलगत्तै विक्रमसिंघेले देशको आर्थिक संकट समाधानका लागि सबै दललाई मिलाएर काम गर्ने बताएका छन् ।

देश आर्थिक संकटमा फसेपछि नागरिकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको कार्यालय कब्जा गरेका छन् । देश छाडेर भागेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपति चयन गरिएको हो । उनको कार्यकाल २०२४ को नोभेम्बरसम्म रहनेछ ।

यो बीचमा आर्थिक संकटमा फसेको देशको पुनरुत्थान गर्ने जिम्मेवारी विक्रमसिंघेको काँधमा छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ९ : ११ बजे