विश्लेषण

राणाका भारतीय नेतासँगका भेटवार्ता व्यक्तिगत, पार्टीगत वा प्रधानमन्त्रीको दूतको रुपमा ?



प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेस नेतृ आरजु देउवा राणाले बुधबार नयाँदिल्लीमा सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरिन् ।

देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछिको एक बर्षमा प्रथम महिलाको छिमेकी एउटा राष्ट्रको सत्तारुढ पार्टीका एक नेतासँगको यो चौथो भेटवार्ता हो । झट्टहेर्दा, दुई देशका सत्तारुढ पार्टीका नेताहरुको भेटवार्ता मान्न पनि सकिन्छ ।

तर आरजु प्रधानमन्त्री देउवाकी पत्नी पनि हुन् र उनले गर्ने भेटवार्ता प्रत्यक्ष रुपमा प्रधानमन्त्री र उनको सरोकारसँग जोडिन्छ । त्यसैले जव घरेलु राजनीतिमा जटिलता देखापर्न थाल्छन्, यस्ता अस्वभाविक भेटवार्ता र गोप्य बैठक स्वभाविक रुपमा सन्देहस्पद देखिन्छन् ।

गत भदौ ६ गते रक्षा बन्धनको दिन बेलुकी बालुवाटार पुगेका चौथाइवालेलाई राणाले राखी बाँधिदिएकी थिएकी दिइन । भित्रभित्रै सम्पर्क र सम्वन्ध विस्तार हुँदै गरेको भए बेग्लै हो । होइन भने आरम्भिक भेटवार्तामै राणाले चौथाइवालेलाई राखी बाँधेर सम्वन्धलाई ‘दिदी–भाइ’ मा परिणत गर्नुपनि अस्वभाविक नै थियो । यसरी ‘राखी कूटनीति’ बाट सुरुभएको संवाद बाक्लिएको छ र यसले थप शंका जन्माउँदैछ ।

यसलाई दिदी भाइ भेटवार्ता वा घरायसी मामिलामात्र भनेर नजरअन्दाज गर्ने कि ? वा दुई सत्तारुढ पार्टीका नेताको बढ्दो घनिष्टतामात्र भनेर बुझ्ने ? वा नेपाली कांग्रेस र भाजपाबीचको पार्टीगत सहकार्यको प्रारम्भका रुपमा बिश्लेषण गर्ने ? प्रश्नहरु गम्भीर छन् । तर जुन कोणबाट व्याख्या गरेपनि मुल प्रश्न राष्ट्रले के पायो भन्ने हो । नेपालको घरेलु राजनीति वा मामिलामा नेपालको प्रधानमन्त्री पत्नी र भारतको सत्तारुढ दलका नेताबीच काठमाडौं र दिल्लीमा छलफल भएको हो वा घरेलु मुद्दामा हस्तक्षेपको आमन्त्रण गरिएको हो वा होइन भन्ने प्रष्ट छैन ।

आफ्नो व्यक्तिगत र पार्टीगत स्वार्थका लागि यसरी सत्ता र शक्तिको दुरुप्रयोग गर्नु कुनैपनि अर्थमा उपयुक्त छैन । राणाको भ्रमण प्रधानमन्त्री देउवाको बिशेष दूतको हैसियतमा भएको हो ? वा नेपाली कांग्रेसको नेताका भएको हो ? वा सांसदका रुपमा भएको हो ? न यसबारेमा प्रधानमन्त्रीले प्रष्ट पारेका छन् न नेपाली कांग्रेस पार्टीले ।
यदी स्वास्थ्य उपचारका लागि उनी नयाँदिल्ली धाएकी हुन् भने त्यसबारे भने नागरिकलाई सूचना प्राप्त गर्ने अधिकार छ । किनकी उनको स्वास्थ्यमा स्वभाविक रुपमा नागरिकको सरोकार हुन्छ नै ।

प्रधानमन्त्री देउवाले अव आउने निर्वाचनपछि पत्नीलाई प्रधानमन्त्री बनाउन चाहान्छन् भन्ने वहस चलिरहेका बेला वा देउवा प्रचण्ड र आरजुलाई आधाआधा कार्यकाल सत्ता संचालन गर्ने वातावरण बनाउन चाहान्छन् भन्ने कांग्रेसकै एकथरीका धारणा आइरहेका बेला नयाँदिल्लीमा भएका यस्ता वार्ताले तिनलाई बल दिन्छन् ।

स्मरण गर्नुपर्छ देउवा प्रधानमन्त्री भएको डेढ महिना नबित्दै चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । त्यही बेला राणा र चौथाइवालेबीच सम्बन्ध स्थापनाको आधार तय भएको थियो । गत वर्ष पुस र गत जेठमा स्वास्थ्योपचारका लागि दिल्ली गएका बेला पनि आरजुले चौथाइवालेलाई भेटिकी थिइन् । गत चैतमा प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्दा पनि राणा र चौथाइवाले बीच भेटवार्ता भएको थियो । देउवा दिल्लीको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेबित्तिकै पत्नी राणाका साथ दिनदयाल मार्गस्थित भाजपा मुख्यालय पुगेका थिए । चौथाइवाले र राणाबीचको घनिष्ठ सम्बन्धकै कारण भारतीय सत्तारूढ दलको मुख्यालय भ्रमण तय भएको चर्चा हुने गरेको छ । नेपालको इतिहासमा नै पहिलो पल्ट औपचारिक भ्रमणमा गएको नेपाली प्रधानमन्त्री कुनै पार्टीको मुख्यालय गएको हो । प्रधानमन्त्री राजकीय र औपचारिक भ्रमणमा पार्टीका मुख्य कार्यलयतिर जाँदैनन् र तीनलाई शिष्टाचारका दृष्टिकोणले उपयुक्त मानिदैंन ।
नेपालमा चिनियाँ र अमेरिकी सक्रियता बढीरहेका बेला भारत सरकार र भाजपाले चौथाइवालेलाई नेपाल मुद्दामा सक्रियताका लागि तोकेको देखिन्छ । चौथाइवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वास पात्र पनि मानिन्छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालाई दुई साताअघि भारत भ्रमण गरेका थिए । त्यो भेटको आधार तयार गर्ने काम राणाकै रहेको श्रोतहरु बताउँछन् ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ११ : ४७ बजे