बेकर र जोटाले कम्युनिटी सिल्ड नखेल्ने



लन्डन — लिभरपुलका जोडीद्वय एलिसन बेकर र डिएगो जोटाले शनिबार म्यानचेस्टर सिटीविरुद्ध हुने कम्युनिटी सिल्ड गुमाउने भएका छन् । गोलरक्षक बेकरले प्रि–सिजनभर पेटको समस्या बोक्दै आएका छन् भने पोर्चुगिज फरवार्ड जोटा ह्यामस्ट्रिङबाट पीडित छन् ।

लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले दुवै खेल्न नसक्ने स्थितिमा रहेको जानकारी दिएका छन् । लेस्टरको किङ पावर रंगशालामा लिभरपुल र सिटीले खेल्दै नयाँ सिजनको यात्रा सुरु गर्दै छन् । यसको एक सातापछि प्रिमियर लिग सुरु हुनेछ । लिभरपुलले अगस्ट ६ मा प्रिमियर लिगमा आफ्नो पहिलो खेल खेल्दा ब्राजिली गोलरक्षक बेकर उपलब्ध हुने विश्वास लिइएको छ ।

कतारमा तीन महिनापछि विश्वकप हुन लागेकाले यसपटकको प्रिमियर लिग चाँडै सुरु हुन लागेको छ । क्लोपले सिजन चाँडै सुरु हुन लागेकाले तयारी पर्याप्त गर्न नपाएको गुनासो पोखे । जसका कारण लिभरपुलले कम्युनिटी सिल्डलगत्तै फ्रेन्च टोली स्ट्रासबर्गसँग अर्को मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ६ : २३ बजे