एमाले पोलिटब्यूरो बैठक

समानुपातिक सांसद र स्थानीय निर्वाचनमा हारेकालाई टिकट दिनु नहुने



काठमाडौं–प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक सांसद रहेकाहरूलाई सोही पदमा दोर्होयाउन नहुने धारणा एमालेका पोलिटब्यूरो सदस्यहरुको छ ।
बिहीबार सम्पन्न पोलिटब्युरोको बैठकमा अधिकांश सदस्यले समानुपातिकको अवसर एकपटकभन्दा बढी दिन नहुने राय प्रकट गरेका हुन् ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दिइने उम्मेदवारको मापदण्डाबारे छलफलमा भाग लिएका नेताहरूले समानुपातिकलाई सोही कोटामा दोर्होयाउन नहुने भन्दै प्रत्यक्षमा उम्मेदवार बन्न खुला रहेको बताए ।
त्यस्तै स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनाउन नहुने मत आएको पोलिटब्युरो सदस्य महेश बस्नेतले दृष्टान्तलाई बताए । स्थानीय निर्वाचनमा पराजित भएकालाई प्रदेश र संघमा टिकट दिनु नहुने मत बलियो छ ।
राष्ट्रियसभा सदस्यलाई राजीनामा गरेर प्रतिनिधिसभा वा प्रदेशसभा चुनावमा उम्मेदवार बनाउनेमा पनि पार्टीभित्र असहमति देखिएको छ । स्थानीय चुनावमा कम संख्या जितेका कारण राष्ट्रियसभामा गठबन्धनसँग लडेर जित्ने सम्भावना कम भएकाले अहिले भएका सांसदलाई त्यहिँ राख्नुपर्ने कुरा उठेको छ ।
बैठकपछि संवाददातासँग कुरा गर्दै एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टीको नीति सिद्धान्तमा प्रतिबद्धता रहेको, आन्दोलनमा योगदान दिएको, लोकप्रिय र विजय सुनिश्चित भएको लगायतका मापदण्डहरू राखिएको बताए
। बाँकी छलफल भएका मापदण्डबारे केन्द्रीय कमिटीले टुंगो लगाउने उनले बताए ।
पोलिटब्युरोले शुक्रबारबाट सुरू हुने केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेण्डा पारित गरेको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दस्तावेज पेस गर्दैछन् ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  १० : ०३ बजे