नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौँ, २७ भदौ (रासस) : नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुबीच द्विपक्षीय वार्तामा भएको सहमतिको आधारमा आज छ बँुदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

सम्झौतापत्रअनुसार दुवै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्ररूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन् । यसैगरी दुवै पक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पु¥याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

दुवै पक्षले नेपाल र जनवादी गणतन्त्र चीनका दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिनेछन् । दुवै पक्षले संसदीय मैत्री समूहलाई उनीहरूको संलग्नता अभिवृद्धि गर्न प्रोत्साहन गर्ने र साथ दिनेछन् तथा दुई व्यवस्थापिकाबीच सद्भाव र समझदारी प्रवद्र्धन गर्न सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहन गर्नेछन् । दुवै पक्षले एकअर्काको विधायिकी, सुपरीवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्ने र दुई सरकारबीच सहमति भएबमोजिम ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मार्फत समेत दुई राष्ट्रहरुबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने सम्झौतापत्रमा उल्लेख छ ।

हस्ताक्षर गरेको मितिदेखि लागू दुवै पक्ष साझा हितको विषयमा ‘इन्टर पार्लियामेण्टरी युनियन’ लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय सङ्गठनहरूको खाकाअन्तर्गत सहयोग सुदृढ गर्न सहमत भएका छन् । यसैगरी यो समझदारीपत्र दुवै पक्षले हस्ताक्षर गरेको मितिदेखि लागू हुनेछ र पाँच वर्षको समयावधिसम्म मान्य रहने सम्झौता भएको छ । साथै कुनै पक्षले यो समझदारीपत्र समाप्त हुने मितिभन्दा छ (६) महिना अगावै लिखितरूपमा यो समझदारीपत्र अन्त्य गर्ने सम्बन्धमा सूचना दिएकोमा बाहेक अर्को क्रमिक समयावधिको लागि स्वतः नवीकरण हुने सम्झौतापत्रमा उल्लेख छ । नेपाल र जनवादी गणतन्त्र चीनबीच सहर्ष कायम रहेको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने तथा दुई राष्ट्र र जनताको आपसी हितका लागि दुवै राष्ट्रहरुबीच सहयोगको आदानप्रदान र आपसी विश्वासलाई अझ गहन तुल्याउने सम्झौतापत्रको उद्देश्य रहेको छ ।

सन् २०१९ को अक्टोबरमा भएको राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अवसरमा नेपाल सरकार र जनवादी गणतन्त्र चीन सरकारबीच विकास र समृद्धिका लागि चिरकालसम्म मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई सहयोगको रणनीतिक साझेदारीमा अभिवृद्धि गर्ने गरी भएको निर्णयलाई पुनः पुष्टि गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अन्तरसंसदीय आदानप्रदान र राज्य राज्यचीचको सहयोगात्मक सम्बन्धको महत्वपूर्ण अंशको रुपमा रहेको तथा यसले आपसी समझदारी र विश्वास अभिवृद्धि गर्न साथै दुई राष्ट्रहरुबीच सहमति विस्तार गर्न मद्दत गर्ने कुरालाई आत्मसात गर्ने सम्झौतापत्रमा उल्लेख छ । नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसबीचको मैत्रीपूर्ण सम्बन्ध र सहयोग सुदृढ गर्न सम्झौतापत्रमा हस्ताक्षर गरिएको सचिवालयले जनाएको छ । यस समझदारीपत्रको व्याख्या वा कार्यान्वयनको क्रममा कुनै विवाद उत्पन्न भएमा आपसी समझदारीमा त्यसको समाधान गरिनेछ । यस समझदारीमा कुनै परिमार्जन वा संशोधन दुवै पक्षको लिखित सहमतिबाट ग्रहण गरिने बताइएको छ । कुनै विवाद उत्पन्न भएमा अङ्ग्रेजीप्रति मान्य हुने काठमाडौँमा नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषाको दुई दुई सक्कल प्रतिमा हस्ताक्षर गरिएको र सबैप्रति समानरूपले आधिकारिक रहेको र कुनै विवाद उत्पन्न भएमा अङ्ग्रेजी प्रति मान्य हुने सम्झौतापत्रमा उल्लेख छ ।

सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली झान्शु नेपालको औपचारिक भ्रमणमा आज काठमाडौँ आइपुग्नुभएको छ । उहाँ विशेष विमानबाट आज अपराह्न काठमाडौँ आउनुभएको हो । अध्यक्ष लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गर्नुभएको थियो । अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्नुहुने चार दिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । यसैगरी उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । नेता लीले यस भ्रमणका क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुहुने कार्यक्रम छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको भेटवार्ता हुनेछ । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : २८ बजे