काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
विगतमा प्रहरी महानिरीक्षकलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहे पनि यसपटक गृहमन्त्री गुरुङ स्वयंले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
नवनियुक्त आईजीपी केसी यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको नेतृत्वमा थिए । २०८२ असोज ५ मा उनलाई प्रहरीको प्रदेश समन्वय विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको थियो । त्यसपछि उनी अपराध अनुसन्धान विभागमा पुगेका थिए ।
यसअघि दानबहादुर कार्की आईजीपी नियुक्त हुँदा केसी पनि महानिरीक्षक पदका प्रतिस्पर्धी थिए । कार्कीसहित एआईजीहरू राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह आईजीपीका दाबेदार थिए ।
कार्की, अधिकारी र केसी २०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन् । केसी र कार्की एउटै ब्याचका सहकर्मीसमेत हुन् ।





प्रतिक्रिया