नेतृत्वलाई बदनाम गर्न सरकारले नियोजित आरोप लगाएको कांग्रेसको दाबी



नेपाली कांग्रेसले पार्टी सभापति गगन थापासहित नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले सरकारले किस्ताकिस्तामा विभिन्न आरोप र विषय सार्वजनिक गरिरहेको दाबी गरेको छ । कांग्रेसले सार्वजनिक भएका अडियो तथा पार्टीको वैधानिकतामाथि उठेका प्रश्नको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ ।

बुधबार पार्टीको समसामयिक राजनीतिक धारणा सार्वजनिक गर्दै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारका आरोपहरू बदनियतपूर्ण रहेको बताए । उनले नेतृत्वमाथि उठेका प्रश्नको सामना गर्न र आवश्यक परे कानुनी लडाइँमा समेत उत्रिन पार्टी तयार रहेको स्पष्ट पारे ।

शर्माले सरकारको कार्यशैली र प्रेस स्वतन्त्रतामाथि पनि प्रश्न उठाए । सञ्चारमाध्यमलाई त्रासमा राख्ने र पत्रकारलाई ह्यारेस गर्ने काम लोकतन्त्रमा स्वीकार्य नहुने भन्दै उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताए ।

उनले विशेष महाधिवेशन सम्पन्न भइसकेपछि त्यसको वैधानिकतामाथि प्रश्न उठाउनु अदालत, निर्वाचन आयोग र महाधिवेशन प्रतिनिधिहरूकै अपमान हुने तर्क गरे । साथै, एक व्यक्तिको मोबाइलबाट प्राप्त सामग्री प्रधानमन्त्रीका सल्लाहकारसम्म कसरी पुग्यो भन्ने प्रश्न गर्दै प्रहरी महानिरीक्षक परिवर्तन गर्नु सरकारको अहिलेको प्राथमिकता हो कि होइन भनेर पनि सोधे ।

शर्माले सार्वजनिक भएका अडियोहरू नियोजित रहेको दाबी गर्दै विवादित सबै विषयको विधिसम्मत छानबिन हुनुपर्ने बताए । ‘जे-जति प्रसंग उठेका छन्, यसको विधिसम्मत छानबिन होस् । आफ्नो वैधानिकताको सन्दर्भमा स्वतन्त्र, निष्पक्ष र विधिसम्मत छानबिन होस्,’ उनले भने ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बुधबार  ६ : ५० बजे