एमाले अध्यक्ष ओलीले सर्वसाधरणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने



नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणसँग कार्तिक ४ गते प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा ओलीले सर्वसाधारणको धारणा बुझ्न र सुझाव सुन्नका लागि प्रत्यक्ष टेलिफोन संवाद गर्न लागेका हुन् ।

यसअघि ओलीले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन डिबेट गर्न आफू इच्छुक रहेको बताएका थिए । प्रमुख प्रतिस्पर्धीविच यस्ता निर्वाचन वहस अन्यत्र पनि हुने अभ्यास रहेको भन्दै वहसमा आउन आव्हान गरेका थिए । उक्त आब्हानपछि पक्ष विपक्षमा वहस भइरहेका छन् ।

कार्तिक ४ मा देशभरिका जुनसुकै नागरिकले पनि ओलीलाई फोन गरेर प्रत्यक्ष सुझाव दिन सक्नेछन् । ओलीको सचिवालयका अनुसार, जनताको चाहना बुझ्न र त्यसअनुसार अघि बढ्ने यो संवादले सहयोग पुग्नेछ ।कुराकानी गर्न चाहने व्यक्तिले आफ्नो नम्बर र नाम ओलीको फेसबुक पेजको ईनबक्समा पठाउनुपर्ने छ । सर्वसाधारण नागरिकले नम्बर पठाएपछि ओलीले आफै फोन गरेर कुराकानी गर्ने जानकारी फेसबुक मार्फत दिएका हुन् । यसका लागि उक्त दिन अपराह्नको समय छुट्याइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ८ : ०२ बजे