एमालेले घनश्याम र प्रभुसहित नौ केन्द्रीय सदस्यलाई पार्टीबाट हटायो



काठमाडौं– पार्टीबिरुद्धको गतिविधिमा लागेको भन्दै एमालेले घनश्याम भूषाल र प्रभु शाहसहित नौ केन्द्रीय सदस्यलाई पार्टीको साधरण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले शनिवार प्रतिनिधिसभा र प्रदेशसभा तर्फका समानुपातिक सांसदको नामको टुंगो पनि लगाएको छ । साथै, पार्टीविरोधी गतिबिधिमा लागेकालाई कारवाही पनि गरेको हो ।

एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फको टिकट नदिएपछि पार्टी छाडेका स्थायी समिति सदस्य भूषाल सत्तागठवन्धनको सहयोग र समर्थनमा रुपन्देही १ बाट निर्वाचन लडेका थिए । उनलाई एमालेका छविलाल विश्वकर्माले पराजित गरेका थिए ।

त्यस्तै प्रभु शाहले पार्टीको निर्णयविरुद्ध रौतहटबाट स्वतन्त्र उम्मेद्वारका रुपमा निर्वाचन लडेका थिए । घनश्याम र प्रभुसहित केन्द्रीय सदस्यहरु उपेन्द्र शाह (रौतहट), कुन्दन कुशवाह (रौतहट), रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रिता शाह (सर्लाही), गंगा चौधरी (दाङ), टेकबहादुर बलम्पाकी मगर (महोत्तरी) लाई पनि कारवाही गरेर पार्टीबाट हटाएको छ ।
त्यस्तै केन्द्रीय निकायका वाङ्दी शेर्पा (ताप्लेजुङ), खेम सुवेदी (कञ्चनपुर), भक्तबहादुर अधिकारी (कञ्चनपुर), लक्ष्मी शाह (कैलाली) लाई पनि पार्टीले हटाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : ५० बजे