प्रचण्ड भन्छन्– सत्ताको चाबी हामीसँग छ, हामीलाई नमिलाई अन्तराष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन



काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताउनुभएको छ ।


प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताउनुभयो । “माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन” उहाँले भन्नुभयो ।

माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको बताउँदै उहाँले यसको रक्षा गर्ने दायित्व हामी सबैको भएको जनाउनुभयो । “सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ,” उहाँले भन्नुभयो, “६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिएका छौँ सरकार त्यही बन्छ ।” यो निर्वाचन अपेक्षित नभएको बताउनुभएका उहाँले खतम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर बनाउन खोजे पनि स्थिति त्यस्तो नभएको जनाउनुभयो ।

अन्तर्राष्ट्रिय गतिविधिको राम्रोसँग विश्लेषण गरी बहुध्रुवमा गएको विश्व परिघटना र अहिलेको जनमतलाई सही ढङ्गले बुझ्न र मुलुकलाई नयाँ शिराबाट लैजान प्रेस सेन्टरले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका उपलब्धिहरूको रक्षा र संस्थागतका लागि सूचना तथा सञ्चारमाध्यमबाट मिडिया विषयवस्तु बनाएर त्यसको सही बजारीकरण गर्नसमेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : ४६ बजे