वेदव्यास जन्मभूमिमा बढ्दै आन्तरिक पर्यटक


रासस

१८ पुस २०७९, सोमबार  

95
Shares

डुम्रे – अठ्ठाइसौँ श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरण भूमि तनहुँको दमौलीमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । व्यास नगरपालिका–३ स्थित वेदव्यासको जन्मभूमिमा अहिले देसका विभिन्न क्षेत्रका विद्यालयबाट अवलोकन भ्रमणमा आउने आन्तरिक पर्यटक बढेको व्यासभूमिका संरक्षक गोविन्द बाबाले बताउनुभयो ।

कोरोना पछि विस्तारै यहाँको पर्यटन चहलपहल बढ्न थालेको उहाँ बताउँनुहुन्छ । बिदाको दिनमा यहाँ घुम्न आउने पर्यटकको संख्या बढी रहेको उहाँले बताउनुभयो । दोलखाको भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले वेदव्यासको जन्मभूमि पवित्र भूमिमा आएको बताउनुभयो । फोहर व्यवस्थापनको अध्ययनका लागि आएको अवस्थामा वेदव्यासको जन्मभूमिमा आएको बताउनुहुन्छ । नगरपालिकाको नाम नै वेदव्यासको नामबाट राखिँदा छुट्टै यहाँको प्रचारप्रसार भएको उहाँ बताउँनुहुन्छ । “आन्तरिक पर्यटकीयस्थलको हामीले नै प्रचारप्रसार गर्न सक्नुपर्छ । नगरपालिकाले पनि सकेको प्रचारप्रसारमा जुटेको रहेछ”,उहाँले भन्नुभयो ।

व्यासभूमिको प्रचारप्रसारका लागि एक महिने हिन्दू महामिलन, एक सय आठ फिट अग्लो व्यासको मूर्तिनिर्माण लगायतका कार्य गरी पर्यटकलाई आकर्षित गर्ने कदम चालिएको छ । यस क्षेत्रमा बिदाको दिनमा करिब एक सय ५० देखि दुई सय आन्तरिक पर्यटक भित्रिने गरेको व्यासभूमिका संरक्षक गोविन्द बाबाले जानकारी दिनुभयो । “बिदाको दिनमा अवलोकन भ्रमणमा आउने अधिकांश विद्यार्थी वेदव्यासका बारेमा जानकारी लिन आउने गरेका छन्”, उहाँले भन्नुभयो । व्यासको एक सय आठ फिट अग्लो मूर्ति व्यासको जन्मभूमिमा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न एक सय आठ फिट अग्लो मूर्ति निर्माणको प्रक्रियामा रहेको छ । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको व्यासभूमि ओझेलमा परेकाले यसलाई मध्यनजर गरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।

पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दाबी र विभिन्न स्रोतले प्रमाणित गरे पनि व्यासभूमिको उचित प्रसारप्रसार हुनसकेको छैन । व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यास क्षेत्र विकास कोषको सक्रियतामा एक सय आठ फिट अग्लो व्यासको मूर्ति स्थापनाका लागि आवश्यक पूर्वाधार निर्माण काम प्रक्रियागत रुपमा अगाडि बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबीच सम्झौता भई पहिलो चरणमा रु पाँच करोड ८४ लाख ८४ हजार ५२ को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणको काम भइरहेको छ ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समपूरक अनुदान रु तीन करोड ८० लाख १४ हजार छ सय ३३ रहेको छ, भने व्यास नगरपालिकाले रु दुई करोड चार लाख ६९ हजार चार सय १९ लागत साझेदारी गरेको छ । मूर्तिको पैतला निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन भएपछि मूर्ति निर्माणको प्रक्रिया अगाडि बढाउन बोलपत्र भएको व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका अध्यक्ष अशोक कुमार श्रेष्ठले बताउनुभयो । “कोभिडका कारण दुई वर्ष बजेट पूर्ण रुपमा रोकियो । चालु आर्थिक वर्षमा आएको बजेटबाट निर्माणकार्य अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “यसअघि नै विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ”, श्रेष्ठले भन्नुभयो । हिन्दू महामिलन व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित एकमहिने हिन्दू महामिलन पर्व वार्षिक रुपमा गरिँदै आएको छ ।

अठ्ठाइसौंँ श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरण भूमिको प्रचारप्रसारका लागि वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा विश्व ओमकार तथा हिन्दू महामिलन पर्व गर्दै आएको छ । महामिलन पर्व प्रत्येक वर्ष कात्तिक महिनाभर सञ्चालन हुने गरेको प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले बताउनुभयो । व्यासभूमिलाई ओमकार तथा सनातन धर्मावलम्बीको धार्मिकस्थल बनाउन एक महिने अखण्ड हरिनाम सङ्कीर्तन एवं एक सय आठ दीप प्रज्ज्वलन गरिँदै आएको उहाँ बताउनुहुुन्छ । गत कात्तिकमा मुक्तिनाथ पीठका पीठाधीश अनन्त श्रीविभूषित स्वामी कमलनयनाचार्यको उपस्थितिमा महामिलन पर्व मनाइएको थियो । यसअघि व्यासभूमिमा शान्ति स्वरुपानन्द दामोदर बाबाको सत्सङ्कल्प र संरक्षक गोविन्द बाबाको तथा वेद अनुयायी प्रतिष्ठानको आयोजनामा १८ महिनासम्म कथा वाचन भई प्रथम ऐतिहासिक १८ महिने अखण्ड हरिनाम सङ्किर्तन एवं एक सय आठ श्रीमद्भागवत ज्ञान महायज्ञ र भूमिपूजन गरिएको थियो ।

महामिलनको समयमा करिब १५ हजार धार्मिक पर्यटक यहाँ भित्रिएको संरक्षक गोविन्द बाबाले जानकारी दिनुभयो । कोरोना राम्रोसँग नसिकँदा यस पटक देशबाहिरबाट धार्मिक पर्यटक कम आएको उहाँ बताउनुहुन्छ । आन्तरिक पर्यटक मात्रै आएको उहाँले बताउनुभयो । व्यास गुफाको पारिपट्टि परासर गुफा छ । पराशर गुफासम्म पुग्नका लागि मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यास गुफासम्म घुम्न आएका पुल तरेर पराशर क्षेत्र पनि पुग्ने गरेका छन् । व्यासभूमिलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउँदै धार्मिक पर्यटकीय गन्तव्य बनाउन कार्यक्रम हुँदै आएको छ ।

विसं २०४१ मा योगी नरहरिनाथले कोटीहोम लगाउने सिलसिलामा भएको धर्मसभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौलीस्थित शुक्लामाहेन्द्री सङ्गम भएको किम्बदन्ती रहेको छ । करिब पाँच हजार पाँच सय वर्ष अगाडि व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यास गुफा छ । जहाँ बसेर वेदव्यास ऋषिले चार वेद र अठार पुराणको रचना गरेको दावी गरिन्छ । व्यास ऋषिको जन्मसँगै जोडिएको यहाँका धार्मिकस्थल जोडिएका छन् । दमौलीदेखि आठ किलोमिटर पूर्व छाब्दी बाराहीको मन्दिरदेखि करिब ५० मिटर पश्चिमपट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको किम्बदन्ती रहेको छ । माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मत्स्येकुण्ड रहन आएको बताइन्छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ४ : ४७ बजे