प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो


रासस

२४ पुस २०७९, आइतबार  

133
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल÷मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो । निगमले पेट्रोल र डिजेल÷मट्टितेलको मूल्यमा प्रतिलिटर रु तीन र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु २० घटाएको छ ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७२, हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु एक सय ७० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.४२ अमेरिकी डलर कामय भएको निगमले जनाएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७८, डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७५ र हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर रु एक सय ९० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.६४ अमेरिकी डलर रहेको थियो ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार आठ सय कायम छ । प्रधानमन्त्री दाहालले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुभएको थियो । वाणिज्य तथा आपूर्ति सचिव निगम सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ५७ बजे