प्रधानमन्त्रीले आज विश्वासको मत लिंदै



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदैछन् । संयुक्त सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने निश्चित भएपनि सकेसम्म बढीभन्दा बढी दलको समर्थन लिने प्रयासमा उनी देखिन्छन् । त्यसका लागि उनले संसदको सबैभन्दा ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर समर्थन गर्न आग्रह गरिसकेका छन् । त्यसबारे कांग्रेसले आज निर्णय गर्दैछ भने माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि समर्थन गर्ने सम्भावना छ ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा यही पुस १० प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।
प्रधानमन्त्री बन्न समर्थन नगरेका र सरकारमा सहभागी नभएका अन्य दलहरूले समेत प्रचण्डलाई विश्वासको मत दिन आश्वासन दिएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ८ : ५० बजे