रवि पदमुक्त भएपछि चितवन २ मा उपनिर्वाचन हुने



काठमाडौं– रवि लामिछाने पदमुक्त भएपछि निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन हुने जनाएको छ ।

नागरिकता मुद्दामा दोषी ठहर भई पदमुक्त भएपछि आयोगले कानुनबमोजिम उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुनै पनि सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै पनि कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पदका लागि उपनिर्वाचन हुने व्यवस्था छ । आयोगले ऐनको त्यही व्यवस्थाबमोजिम उपनिर्वाचन गर्ने जनाएको छ ।

‘अहिले अदालतको फैसला आएको छ, हामीलाई त्यसको औपचारिक जानकारी आइसकेको छैन, अदालतले गरेको निर्णय हामीले मान्ने हो,’ आयोगका एक अधिकारीले भने, ‘अदालतको निर्देशनबमोजिम हामी अघि बढ्छौँ ।’
चितवन–२ बाट निर्वाचित भएका लामिछाने उपप्रधान तथा गृहमन्त्रीसमेत बनेका थिए । सर्वोच्च अदालतले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेको, तर स्वदेश फिर्ता भएपछि नागरिकता कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै हाल उनी नेपाली नागरिक नरहेको ठहर गरेको हो ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : ५८ बजे