मन्त्रिपरिषद्को निर्णय : दैलेखमा पेट्रोलियम अन्वेषण गरिने



सरकारले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषण गर्ने भएको छ ।

उक्त प्रयोजनका लागि का लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रह गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पेट्रोलियम अनवेषणका लागि सो जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले नागमती बाँध आयोजनाको कार्यान्वयनका अघि बढाउन काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ मा रहेको करिब १४ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । त्यस्तै, बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई दक्षिण अफ्रिकामा हुने आइडब्लुएमआइ छलफलमा भाग लिन स्वीकृति दिएको छ ।

रक्षामन्त्रीको भारत भ्रमण रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आगामी फागुन १ देखि ५ गतेसम्म भारत भ्रमण गर्नुहुने भएको छ । मन्त्रिपरिषद्को बैठकले रक्षामन्त्री उप्रेतीको नेतृत्वको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेग्मीले बताउनुभयो । उहाँले रक्षामन्त्रीको भारत भ्रमण नियमित सुरक्षासम्बन्धी दुई देशीय छलफलको आयोजना गर्ने बैठक भएको बताउनुभयो । त्यस्तै बैठकले आगामी फागुन ५ र ६ गते भारतमा आयोजना हुने नेपाल–भारत विद्युत् व्यापार सम्झौताअन्तर्गतको संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालक समितिको दशौँ बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको आयोजनामा अष्ट्रियाको भियनामा आगामी चैत ६ गतेदेखि ८ गतेसम्म हुने ‘टीसी एसिया एन्ड दि प्यासिफिक एनएलओ वर्कसप’ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (विज्ञान तथा प्रविधि) प्रमिलादेवी शाक्य बज्राचार्यलाई भाग लिन स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । बैठकले फागुन १ गतेदेखि ३ गतेसम्म थाइल्याण्डको बैंककमा हुने क्षयरोग, एचआईभी एड्स र मलेरियासम्बन्धी दक्षिण पूर्वी एसिया क्षेत्रका मुलुकको गोष्ठीमा भाग लिनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा सङ्गीता कौशल मिश्रलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको सञ्चारमन्त्रीले बताउनुभयो ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ७ : ४५ बजे