प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको निम्तो दिन भारतका विदेश सचिव सोमबार काठमाडौं आउँदै



काठमाडौं– भारतका विदेश सचिव विनय मोहन क्वात्राले नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा फाल्गुण १ देखि ३ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । विदेश सचिवको कार्यभार सम्हालेपछिको क्वात्राको यो पहिलो नेपाल भ्रमण हो ।
श्रोतका अनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिन सचिव काठमाडौं आउन लागेका हुन् । प्रधानमन्त्री दाहालले आफ्नो पहिलो भ्रमण भारतबाटै हुने बताउँदै आएका छन् ।
भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरी भ्रमणको तालिका सार्वजनिक गरेको हो । विज्ञप्तीका अनुसार, दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्नुहुनेछ ।
भारत र नेपालबीच सभ्यतागत एवं ऐतिहासिक सम्बन्ध रहेको छ । यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटि परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन बलियो भएको विज्ञप्तीमा उल्लेख छ । यो भ्रमणले हामीबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउने अवसर प्रदान गर्नेछ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : ४५ बजे