तिब्बतीको जीवनस्तर सुधारका लागि दुई अर्ब डलर लगानी


रासस

१० फाल्गुन २०७९, बुधबार  

0
Shares

चीनको स्वशाषित क्षेत्र तिब्बतका जनताको जीवनस्तरमा सुधार गर्न एक अर्ब ९९ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा स्वशाषित क्षेत्र सरकारले गरेको छ।
यो वर्ष लगानी हुने उक्त रकम तिब्बतीको जीवितकोपार्जन अनुदान, तिब्बतका चिकित्साकर्मीलाई आर्थिक सहायता, सीमावर्ती क्षेत्रका गाउँमा अक्सिजन आपूर्ति तथा सुविधा वृद्धिमा खर्च गरिने तिब्बतको स्वायत्त सरकारले बताएको छ। समुद्र सतहबाट तीन हजार पाँच सय मिटरको उचाइमा रहेका तिब्बती भूभागमा अक्सिजनको कमीले जीवन यापन कठिन हुने गरेको छ।
चार हजार मिटरभन्दा बढीको औसत उचाइमा रहेको तिब्बत पठारमा अत्यधिक चिसो र अक्सिजनको अभावले जनजीवन अस्तव्यस्त हुने भएकाले स्थानीयहरूको सुविधालाई तिब्बतको स्वायत्त सरकारले उच्च प्राथमिकता दिएको जनाउँदै अस्पताल तथा भवन तताउने परियोजना निर्माण, सामुदायिकस्तरमा पनि तताउने सुविधा व्यवस्था गर्न पर्याप्त रकम विनियोजन गरिएको बताएको छ।

गत वर्ष तिब्बतमा जनसुविधालाई दृष्टिगत गरी ३८ वटा विकासका कार्यक्रम कार्यान्वयन गरिएको थियो। शहरी ढल व्यवस्थापन सञ्जाल निर्माण तथा ग्रामीण सडक परियोजनाका साथै स्वास्थ्यसम्बन्धी कार्यक्रम सम्पन्न गरिएका थिए।

तिब्बत स्वायत्त क्षेत्रले दुई अर्ब ५० करोड अमेरिकी डलरको लागतमा एक हजार तीन सय ३७ वटा ग्रामीण पुनरुत्थान परियोजना सञ्चालन गरेको छ। एक स्थानीय अधिकारीका अनुसार ८४ वटा आयोजनाको निर्माण सुरु भइसकेको छ भने कुल आठ सय नौ आयोजनाको प्रारम्भिक कार्य भई बोलपत्र प्रक्रियामा गइसकेका छन्। यो वर्ष ती योजना कार्यान्वयन भइसक्ने छन्। कृषि तथा पशुपालनका परियोजनालाई उच्च प्राथमिकता दिइएको छ।

परियोजनाले ग्रामीण क्षेत्रमा उच्च प्रतिफल दिने कृषिकर्म, विशेष कृषि र पशुजन्य उद्योगको प्रवद्र्धनलाई जोड दिएको तिब्बतको ग्रामीण पुनरुत्थान ब्यूरोका उपनिर्देशक जियाङ हुवाले बताएका छन्।

आगामी मे महिनाभित्रै सबै परियोजना थालिने जानकारी उनले दिएका छन्। वर्षौंको अथक प्रयासपछि तिब्बतका ग्रामीण बासिन्दाको जीविकोपार्जनमा सुधार आएको छ। सन् २०१२ को तुलानमा सन् २०२१ देखि यस क्षेत्रका ग्रामीण बासिन्दाको प्रतिव्यक्ति आयमा करिब तीन गुणाले वृद्धि भएको छ।

आर्थिक तथा सामाजिक रूपले पछि रहेको तिब्बतमा केन्द्र सरकारको निर्देशनमा तीव्र विकासका गतिविधि सञ्चालनमा ल्याएपछि हालका दिनमा भौतिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय तथा शैक्षिक रूपले विश्वको प्रमुख आकर्षक केन्द्रका रूपमा विकास भएको छ।

प्रान्तीय र समकक्ष प्रशासनिक इकाइ, केन्द्रीय सरकारी विभाग, राज्य सरकारको स्वामित्वमा रहेका उद्यमलाई केन्द्रीय सरकारको सहयोगमा तिब्बत स्वायत्त क्षेत्रका परियोजना सञ्चालन गरेर राजमार्ग, रेलवे, हवाई मार्ग, र पाइपलाइनसमेतको व्यापक सञ्जाल निर्माण गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : ३६ बजे