राष्ट्रपतिमा कांग्रेस र माओवादीवीच आज औपचारिक सहमतिको तयारी



काठमाडौँ – राष्ट्रपतिको उम्मेद्वार छनौटलाई लिएर नेपाली कांग्रेस र माओवादीवीच अनौपचारिक सहमति भएको छ । थप छलफल गरी आज विहीवार लिखित सहमति गर्ने तयारीमा दुवै पार्टी रहेका छन् ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा अनौपचारिक सहमति भएको हो । श्रोतका अनुसार, प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई माओवादीले समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले राष्ट्रपतिको उम्मेद्वार तय गर्न देउवालाई आग्रह समेत गरेका छन् ।

कांग्रेसले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलामध्ये एक जनालाई आज राष्ट्रपतिको उम्मेद्वार घोषणा गर्ने सम्भावना छ । सिटौला बन्दा आफूलाई सहज हुने भन्दै प्रधानमन्त्री प्रचण्डले देउवालाई संकेत समेत गरेका छन् । तर पौडेललाई राष्ट्रपति बनाउने वचन आफूले पहिले नै दिएको भन्दै देउवाले उनैलाई अघि सार्ने तयारी गरेका छन् ।

एमालेले भने प्रधानमन्त्री प्रचण्ड पूर्वसहमति पालना गर्न तयार नभएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेद्वारका रुपमा प्रस्ताव गरेको छ । अध्यक्ष ओलीले प्रचण्डलाई नेपाल र सुवास नेम्वाङ आफ्नो तर्फबाट राष्ट्रपतिका उम्मेद्वार भएको बताएका थिए । नेपाललाई राष्ट्रपतिका बनाउँदा ओलीको प्रस्तावमा हुने र एमालेसँग समाजवादीको एकता हुने सम्भावना बढ्ने भएपछि प्रचण्डले असफल पार्ने प्रयासमा छन् । प्रचण्ड र देउवाबीच माधव नेपाललाई केही समयका लागि भएपनि प्रधानमन्त्री बनाउने र सरकारमा साझेदार बनाउने लगायतका बिषयमा मनाउने प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ९ : ४५ बजे