काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीकी सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पुर्याएको क्षतिपछिको पुनर्निर्माणका लागि राज्यले जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्नुपर्ने बताएकी छिन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सामाजिक सञ्जालमा गरिने चर्चाभन्दा धरातलीय यथार्थमा आधारित श्रमको संस्कृतिलाई जोड दिनुपर्ने बताएकी हुन् ।
सांसद बुढामगरले बाढी प्रभावित क्षेत्रमा आफ्नो दल नेकपा (एमाले) संवद्ध युवा संगठनका सदस्यहरू सुरुदेखि नै उद्धार र राहत वितरणमा सक्रिय रहेको स्मरण गराइन् । उनले युवाहरूले फेला पारेको सुनसहितको धनमाल सम्बन्धित पीडितलाई बुझाएर इमान्दारिताको नमूना प्रश्तुत गरेको समेत उल्लेख गरिन् ।
‘के माटो र बेल्चा नछोई देशको विकास सम्भव छ ? सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ? देश निर्माणका लागि केवल राज्यको संयन्त्र मात्र पर्याप्त हुँदैन, जनताको सक्रिय सहभागिता अनिवार्य हुन्छ,’ उनले भनिन् ।
उनले विगतमा ‘शहीद मार्ग’ निर्माण गर्दा जनताले आफ्नै पाखुरीको बलमा काम गरेको स्मरण गर्दै सोही संस्कारलाई पुन: ब्युँत्याउनुपर्नेमा जोड दिइन् । हालको सरकार युवा शक्तिको बलमा बनेको उल्लेख गर्दै सोही शक्तिलाई राष्ट्र निर्माणका काममा परिचालन गर्न आग्रह उनको थियो ।





प्रतिक्रिया