रुसी सेनाबाटै देशको स्थायित्व प्रत्याभूत हुन्छ: पुटिन



मस्को। राष्ट्रपति भ्लादिमिर पुटिनले देशको स्थायित्व रुसी सेनाबाटै प्रत्याभूत हुने बताएका छन्। युक्रेनमा आक्रमण सुरु भएको एक वर्षपछि उलेले हतियार उत्पादन बढाउने वाचा गरेका छन्।

‘डिफेन्डर अफ द फादरल्याण्ड डे’ का अवसरमा जारी गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति पुटिनले आधुनिक, कुशल स्थल र नौसेना देशको सुरक्षा र सार्वभौमसत्ता प्रत्याभूत गर्ने शक्ति भएको उल्लेख गर्दै देशको राष्ट्रिय सेनाबाटै राष्ट्रको स्थायित्व, विकास र भविष्य सुनिशिचत हुने बताए।

देशको प्रतिरक्षा क्षमता विस्तारलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले सशस्त्र सेनाका सबै डफ्फाको सन्तुलित विकास गरी सञ्चार उपकरण, ड्रोन र तोपखाना प्रणालीलाई अझ सुदृढ तुल्याएर सञ्चालन गर्ने बताए। “अब हाम्रो उद्योगले परम्परागत हतियारको सम्पूर्ण दायराको उत्पादन द्रुत गतिमा बढाउँनेछ,” उनले भने।

राष्ट्रपति पुटिनले युक्रेनमा साहसपूर्वक लडिरहेका फौजको प्रशंसा गर्दै मुलुकको ऐतिहासिक भूमिमा जनताको रक्षा गर्ने सैनिक अटुट एकताका सूत्र भएको बताए। एकता नै विजयको द्योतक हुने उनले बताए। राष्ट्रपति पुटिनले युक्रेन आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्दै आएका छन्।
रासस

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ८ : ४९ बजे