प्रमुख दलका शीर्ष नेता आज निर्णायक वार्तामा

माधव नेपालको पक्षमा राष्ट्रिय सहमतिको प्रयास हुने, कांग्रेसको दाउ बेग्लै



काठमाडौं– प्रमुख दलका शिर्ष नेताहरु राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्न आज निर्णायक वार्तामा जुट्दैछन् । राष्ट्रपतिका लागि भोलि उम्मेद्वारको मनोनयन हुँदैछ ।

विहीवार तीन दलको वैठकपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार (आज) एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्ने बताएका थिए । त्यस अनुसार, आज ओली र प्रचण्डबीच भेटवार्ता हुँदैछ ।

तर ओलीसँगको वार्ता अघि नै हिजो बसेका तीन दल माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीले नेपाली कांग्रेससँग अहिले विहान वार्ता गर्ने बताएका छन् । हिजोको बैठकमा माधव नेपाललाई राष्ट्रपतिमा अघि सार्ने र उपराष्ट्रपति जसपाबाट अघि सार्नेवारे छलफल भएको एकीकृत समाजवादीका एक नेताले दृष्टान्तलाई बताएका छन् । त्यही समझदारी अनुसार, नेपाली कंग्रेससँगको वार्तामा प्रस्तुत हुने र कांग्रेसको धारणापछि एमाले अध्यक्ष ओलीसँग वार्ता गर्ने तयारीमा प्रचण्ड देखिएका छन् । अध्यक्ष ओलीले यसअघि नै माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव गरिसकेका छन् । उनले नेपालसहित सुवास नेम्वाङको नामसमेत प्रस्ताव गरेका थिए ।

श्रोतका अनुसार, राष्ट्रिय सहमतिको नारा लगाएर एमालेलाई निषेध गरेर जाने अवस्था गलत हुने भन्दै तीन दलकै केही नेताले बिषय प्रवेश गराएपछि फरक ढंगले छलफल अघि बढेको हो । त्यहाँ भएको छलफलमा, माधव नेपाललाई राष्ट्रपति बनाएर अघि बढ्दा कम्युनिष्ट एकताको प्रयास अघि बढाउन सकिने र ढिलोचाडो त्यो सम्भव हुने लाइनमा कुरा भएको थियो ।
एमालेसँग एकताभन्दा पहिला माओवादी, जसपा र एकीकृत समाजवादीबीच नै समाजवादी मोर्चा बनाएर अघि बढ्ने र त्यसकै वलमा एमालेसँग पनि एकताको पहल गर्न सकिनेवारेमा पनि छलफल भएको थियो । जसपाले उपराष्ट्रपति पाएमा उपेन्द्र यादव पनि कम्युनिष्ट मोर्चा निर्माणमा जुट्न सहमत भएको श्रोतको दावी छ ।

सकेसम्म माधव नेपालको नाममा कांग्रेसलाई समेत मनाएर राष्ट्रिय सहमति कायम गर्ने, नसके पनि बहुमतका आधारमा निर्वाचित गर्ने प्रयासमा तीन दल लाग्ने सम्भावना रहेको एक नेताले बताए । कांग्रेस भने कम्युनिष्ट गठवन्धन भत्काएर राष्ट्रपति आफूले लिने र बरु प्रचण्डलाई पूर्ण कार्यकाल नै प्रधानमन्त्री दिने तयारीमा समेत देखिएको छ । त्यसैले वार्ता कसरी अघि बढ्छ र के निर्णय हुन्छ भन्न सक्ने अवस्था भने छैन । २५ गते राष्ट्रपति पदको निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : ०८ बजे