प्रधानमन्त्रीले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण



काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन् । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन मन्त्री पौड्याल आइतबार साँझ जेनेभा जाने तयारीमा थिइन । तर प्रधानमन्त्रीले फोन गरेर नजान भनेपछि भ्रमण रोकिएको हो ।

‘प्रधानमन्त्री दाहालले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजानु भनेका हुन् । त्यसैले नजानु भएको होे,’ परराष्ट्रमन्त्री पौड्याललाई उदृत गर्दै उनका प्रेस विज्ञ यशोदा अधिकारीले भनिन् । परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जान लागेकी थिइन् । उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्नेछ । नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य पनि हो ।

आठ दलको नयाँ गठबन्धन बनेपछि एमालेबाट मन्त्री बनेकी पौड्याललाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाएका हुन् । मन्त्री पौड्यालले आइतबार दिउँसोमात्रै पत्रकार सम्मेलन गरेर परिषद्को ५२ औं सत्रमा नेपालले हालसम्म गरेको उपलब्धिहरु र भएका कामहरुको बारेमा परिषद्को सत्रमा राख्ने र विश्वलाई नै जानकारी दिने बताएकी थिइन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : २० बजे