प्रधानमन्त्रीको स्पष्टीकरण : अपमान गरेको होइन, विदेशमा रहँदै मन्त्री पद जाँदा नराम्रो हुन्छ भनेर रोकेको हुँ



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अपमान गर्नेगरी जेनेभा भ्रमण नरोकेको स्पष्टीकरण दिएका छन् ।

एमालेका मन्त्रीहरूको राजीनामा बुझ्दै सोमबार दिउँसो अपमान हुनेगरी भ्रमण नरोकेको बरु विदेशमा रहँदानै पद नजाओस् भनेर निर्णय गरेको बताएका हुन् । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण मन्त्रीको भ्रमण रोकेका थिए । प्रधानमन्त्री दाहालले विदेशमै रहेका बेला मन्त्री पद जाँदा नराम्रो हुने भएकाले भ्रमण रोकेको बताएको एमालेका मन्त्रीहरुले बताएका छन् ।

उनले मन्त्रीलाई अन्तिम समयमा रोकेर नेपालको प्रतिनिधित्व गर्न पूर्वकानुनमन्त्री गोविन्द बन्दीलाई पठाएका थिए । तर बन्दीको अहिलेको हैसियत भने प्रष्ट छैन । उनले सरकारको प्रतिनिधित्व गर्ने कुनै औपचारिक निर्णय यसअघि भएको सार्वजनिक छैन ।
‘विमलाजीलाई अपमान गर्नेगरी भ्रमण रोकेको होइन । २०६५ सालको घटना मनमा सम्झेँ’ प्रधानमन्त्रीले भने । त्यसबेला दाहाल नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेका उपेन्द्र यादव विदेश भ्रमणमै रहेका बेला मन्त्री पदबाट हट्नु परेको थियो । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटुवाल प्रकरणमा दाहालले ९ महिनामै सरकार छाडेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ५ : ५९ बजे