झापामा मह प्रशोधन उद्योग सञ्चालनमा



दमक । झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ ।

मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो । सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको रु. एक करोड २५ लाख लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको उद्योगका संयोजक देवीकुमारी ओली दाहालले बताइन् ।

उनले उद्योगमा वार्षिक १० हजार मेट्रिक्टनभन्दा बढी मह उत्पादन हुँदै आएको जानकारी दिइन् । व्यावसायिक रुपमा मह उत्पादनका लागि सतासीमा खेती समेत गरिँदै आइएको छ । अब आधुनिक मेसिनबाट मह प्रशोधन हुने भएकाले बजारीकरणमा पनि समस्या नहुने किसान धनमाया पाठकले बताइन् ।

उनका अनुसार पहिलो चरणमा सो उद्योगमा सात महिलाले रोजगारी पाएका छन् । शिवसताक्षी–११ मा बासिन्दाले सरदर १० देखि दुई सय ५० घारसम्म माहुरी पालेका छन् ।

मौरीपालन ‘ब्लक’ क्षेत्रसमेत घोषणा गरिएको शिवसताक्षी–११ भित्र मात्र झन्डै तीन सयभन्दा बढी महिलाले व्यावसायिक रूपमा नै मौरीपालन गर्दै आएको र यसबाट वार्षिक ६० टनभन्दा बढी मह उत्पादन हुँदै आएको छ ।
रासस

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ११ : ४७ बजे