सुदुरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन



काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन त्यहाँको संसदीय दललाई निर्देशन दिएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् ।
माओवादीको सुदुरपश्चिम दलले आलोपालो मुख्यमन्त्री र मन्त्रालय भागबण्डामा सहमति नभएसम्म विश्वासको मत नदिने बताएको थियो । माओवादी सुदूरपश्चिम दलका नेता खगराज भट्टले यस्तो अडान राखेका थिए । तर आइतवार विहान विश्वासको मत दिन निर्देशन दिएपछि बैठक बसिरहेको छ ।
माओवादी सुदूरपश्चिम संसदीय दलले पत्र लेखेपछि दाहालले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएका हुन् । नेता खगराज भट्टले विश्वासको मत दिएर आठ दलीय गठबन्धन कायम राख्न भन्ने निर्देशन पार्टी अध्यक्ष प्रचण्डबाट आएकोले त्यसबारे छलफलपछि निर्णय लिइने बताएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १२ : ३५ बजे