नेपालको बिजुली क्रमशः भारत र बङ्गलादेशको बजारमा पुग्दैछ: दाहाल

अब हाइड्रोजनबाट चल्ने सवारी चढ्छु




काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने बताएका छन् ।

सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हालै मात्र नेपाल र भारतका ऊर्जा सचिवहरूको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप मार्ग प्रशस्त गरेको सन्दर्भ जोड्दै मुलुकको व्यापार घाटा घटाउनका लागि ऊर्जाको निकासी नै उपयुक्त माध्यम बन्ने बताए ।

आर्थिक विकास र व्यापार घाटा घटाउनका लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने दाहालले बताए ।

साहस ऊर्जासँग जोडिएका सबै सङ्घ संस्थालाई सरकारको तर्फबाट बधाई एवं धन्यवाद दिँदै प्रधानमन्त्रीले ऐतिहासिक रेकर्ड बनाएकामा साहस ऊर्जालाई थप आयोजना निर्माणका लागि आग्रह गरे। उनले साहस ऊर्जाको प्रयासले आगामी दिनमा निजी क्षेत्रलाई थप आयोजना निर्माणका लागि उच्च मनोबल प्रदान गरेको तथा नयाँ आयाम खडा गरेको बताए ।

प्रकृतिले दिएको अपार जलस्रोतको उपयोग गरेर मात्रै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि लैजान सकिने प्रधानमन्त्रीको भनाइ छ । आफू पहिलो पटक प्रधानमन्त्री बन्दा ठूला र रणनीतिक महत्त्वका परियोजना शुरु गर्नुपर्छ भन्ने घोषणा गरेको स्मरण गर्दै उनले क्रमशः ती आयोजना अगाडि बढेको र त्यसले मुलुकको आकांक्षालाई पूरा गर्ने बताए ।

दोस्रो पटक प्रधानमन्त्री बन्दा आफूले व्यावहारिक तथा प्राविधिकरूपमा लोडसेडिङको अन्त्य गरेको प्रधानमन्त्रीले पुनः स्मरण गरे । सबै तह र तप्काबाट दृढ इच्छाशक्तिका साथ देश बनाउने प्रतिबद्धता व्यक्त गरियो भने त्यसबाट सकारात्मक प्रभाव पर्ने, व्यापार घाटा घटाउनका लागि पनि बिजुली बिक्री नै उपयुक्त माध्यम बन्ने उनको भनाइ छ ।

अब हाइड्रोजनबाट चल्ने सवारी चढ्छु
प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रमा भएको विकासले ग्रीन हाइड्रोजनमा फड्को मार्ने उपयुक्त अवसर आएको बताए । विकसित देशमा हाइड्रोजनको प्रयोगको मात्रामा गुणात्मक वृद्धि हुँदै गरेको तथ्य पेश गर्दै प्रधानमन्त्रीले नेपाल पनि क्रमशः त्यसतर्फ अग्रसर हुने उल्लेख गरे ।

प्रधानमन्त्रीले डिजेल र पेट्रोलको सवारी साधन छाडेर आफूलाई हाइड्रोजन सवारी साधन चढ्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुझाव दिएको र त्यसको तयारीमा रहेको जानकारी दिए । उनले ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजनतर्फ जाने सोचका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत छलफल भएको बताए ।

निजी तथा सार्वजनिक क्षेत्रको सहकार्य बिना आर्थिक विकासको प्रक्रिया अगाडि बढ्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रले अगाडि बढाएका सबै आयोजनाको सहजीकरण गर्ने र समस्या समाधान गर्ने बताए ।

मुस्ताङमा कलेज खोल्न स्वीकृति दिएको छैन

पछिल्ला दिनमा मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले अनुमति दिएको भनेर गरिएको प्रचारमा सत्यता नभएको प्रधानमन्त्री दाहालको भनाइ थियो । प्रधानमन्त्रीले मुस्ताङको एक स्थानीय तहले विश्वविद्यालय नभई कलेज खोल्नका लागि आग्रह गरेको भन्ने आफूले थाहा पाएको भए पनि नेपाल सरकारको तर्फबाट कहीँकतै स्वीकृति नदिएको बताए ।

मुस्ताङको चर्चा आउने बित्तिकै हामी सबै नेपाली संवेदनशील हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यहाँ रहेको खनिजको उपयुक्त प्रयोग गरिए देशमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने बताए ।

सोलुखोला दूधकोसी जलविद्युत् आयोजना निजी क्षेत्रले निर्माण गरेको हालसम्मकै सबैभन्दा ठूला आयोजना हो । सो आयोजनाको क्षमता ८६ मेगावाट छ । साहस ऊर्जाका अध्यक्ष हिम पाठकले पाँच सय मेगावाटसम्मका जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सक्छौँ भन्ने अनुभव आफूहरूले प्राप्त गरेको बताए ।

विनाशकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायतका कारणले अपेक्षित समयमा पूरा हुन नसकेको भए पनि ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने प्रमाणित भएको उनले जानकारी दिनुभयो । जलविद्युत् क्षेत्रको विकासको माध्यमबाट मात्रै समृद्धि प्राप्त हुने हुँदा विद्युत् खरिद बिक्रीको इजाजतपत्र प्रदान गरिदिन उनले प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

आयोजनाको परीक्षण उत्पादन सम्पन्न भई हाल व्यावसायिक उत्पादन सुरु भएको छ । आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको सोलु करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजना आफैँले १२ किलोमिटर लामो एक सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरेको छ ।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रकृतिले दिएको अथाह जलशक्तिको उपयोग गरेर आर्थिक समृद्धिको मार्ग प्रशस्त हुने बताए ।

कार्यक्रममा पूर्वसचिव रामेश्वर खनाल र अर्थशास्त्री डा डिल्लीराज खनाललगायतलाई प्रधानमन्त्री दाहालले सम्मान गरेका थियो ।
रासस

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ८ : ४९ बजे