ढोरपाटन पुगे नौ हजार पर्यटक



गलकोट । यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को फागुन तेस्रो सातासम्म नौ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिए । नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र अवलोकनका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि हुँदै गएको छ ।

ढोरपाटन क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा शिकार आरक्ष कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको हो । ढोरपाटन शिकार आरक्षले विदेशी तथा नेपाली पर्यटकको आगमनको तथ्याङ्कलाई व्यवस्थित गर्दैगएको छ । गत आवमा छ हजार बढी जनाले ढोरपाटनको अवलोकन गरेकामा चालु आवको अन्त्यसम्म त्यो सङ्ख्या बढेर दोब्बर पुग्ने देखिएको छ ।

ढोरपाटन शिकार आरक्षको तथ्याङ्कअनुसार आरक्ष अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । कुनै दिन ढोरपाटनमा शिकार खेल्न मात्रै पर्यटक आउने गरेकामा पछिल्लो समय शिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोर वराम मन्दिर अवलोकनका लागिसमेत पर्यटक आउने गरेका छन् ।

विदशी शिकारी शिकार खेल्नका लागि हेलिकप्टरमार्फत सोझै आरक्ष क्षेत्रमा पुग्ने गरे पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक घुम्नका लागिसमेत त्यहाँ पुग्न थालेका छन् । वैधानिकरुपमा नाउर र झारलको शिकार खेल्न पाइने आरक्ष क्षेत्र प्रवेशमा नेपाली र बाह्य पर्यटकले प्रवेश शुल्क तिर्नुपर्छ । सूचना अधिकारी पङ्गेनीका अनुसार आरक्षमा पुग्ने विदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्दै आएकामा दुई वर्षदेखि आन्तरिक पर्यटकको पनि तथ्याङ्क राख्न थालिएको छ ।

विदेशी पर्यटकलाई प्रवेश शुल्क नियमअनुसार छ भने नेपालीलाई प्रतिव्यक्ति रु एक सय छ । आव २०७७/७८ मा छ हजार सात सय तीन स्वदेशी र विदेशी पर्यटक आरक्ष क्षेत्रमा आएका थिए भने चालु आव २०७८/७९ मा नौ हजार नौ सय १९ पर्यटक शिकार आरक्ष क्षेत्रमा आइसकेका छन् । यो वर्ष १२ हजारको हाराहारीमा पर्यटक पुग्ने पङ्गेनी बताउँछन् ।

ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकले शुल्क तिरेर प्रवेश पाउने गरेकामा आव २०७७/७८ आन्तरिक पर्यटकले समेत रु एक सय प्रवेश शुल्क तिर्ने प्रावधान बनाइएको छ । आव २०७२/७३ मा ९१, आव २०७३/७४ मा एक सय ३९, आव २०७४/७५ मा एक सय १९, आव २०७५/७६ मा चार सय ८० तथा आव २०७६/७७ मा तीन सय २० विदेशी पर्यटक यहाँ घुम्न आएका थिए ।

यस्तै ढोरपाटन आउने पर्यटकसँगै राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ । आरक्षको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०/७१ मा रु चार लाख १० हजार, आव २०७६/७७ मा रु छ लाख ६८ हजार, आव २०७७/७८ मा रु २० लाख २२ हजार तथा चालु आवको हालसम्ममा रु २२ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ । राजस्व वन्यजन्तु विभागमा जम्मा हुने आरक्षले जनाएको छ । ढोपाटनमा शिकार खेल्न, ढोरपाटन उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र शिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

यहाँ नाउर र झारलको वैधानिक शिकार खेल्न पाइन्छ । बागलुङ, म्याग्दी र पूर्वी रुकुमसम्म फैलिएको आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ । यहाँ होटल तथा घरबास सञ्चालनमा छन् । शिकार खेल्न विदेशी पर्यटक सोझै हेलिकप्टरमार्फत हिमाली क्षेत्रमा पुग्ने गरेका छन् । ढोरपाटनमा पछिल्लो समय घोडा सफारी र होटल व्यवसायसमेत फस्टाउँदै गएको छ ।
रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ११ : ५५ बजे