मध्यभोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने प्राधिकरणको चेतावनी



काठमाडौँं । नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न नभइ मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बिक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुलउपर गर्ने चेतावनी दिएको छ ।

कूल एक सय दुई मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ । आयोजना सम्पन्न भएर सवस्टेशनका अभावमा बिजुली खेर गएको अवस्थामा निर्माण व्यवसायीबाट असुलउपर गर्ने चेतावनी प्राधिकरणले दिएको हो ।

प्राधिकरणले तामाकोसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारलाई समयसीमा दिएको छ । आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सवस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । साथै, लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सवस्टेसन निर्माण भइरहेको छ ।

तामाकोसी तथा सुनकोसी र त्यसका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडाैँ प्रसारण लाइन र सवस्टेसन निर्माण सुरु गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानसहितको उच्चस्तरीय टोलीले आयोजना अन्तर्गत बाह्रबिसे सवस्टेसनको बुधबार अनुगमन भ्रमण गरी महत्वपूर्ण प्रसारण लाइन र सवस्टेसनको निर्माण असारभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ ।

निर्माणमा देखिएको अवरोध हटाउन आफ्नो तर्फबाट पनि सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता जनाउँदै टोलीले नयाँ खिम्ती–बाह्रबिसे, बाह्रबिसे–काठमाडौँ र बाह्रबिसे सबस्टेसनको निर्माण असारभित्र सम्पन्न गर्न निर्देशन दिएको हो । टोलीले प्रसारण लाइन र सवस्टेसन निर्माण जिम्मा पाएका ठेकेदार, आयोजना व्यवस्थापनसँग निर्माणमा हालसम्म भइरहेको प्रगति, सम्पन्न हुने तालिका, बेहोरिरहेको समस्या तथा समाधानका उपायहरुलगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको थियो ।

रुख कटान आदेश, जग्गा प्राप्ति, प्रसारण लाइनको मार्गधिकारमा स्थानीय बासिन्दाको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ । बाह्रबिसे सवस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङसी ट्रान्समिसन एण्ड सवस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमको काम सन्तोषजक नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सवस्टेसनमा जोडिने छ । मध्यभोटेकोसीको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले असारभित्रमा सवस्टेसनको निर्माण नभएर मध्यभोटेकासीको विद्युत् जोड्न नसकिने अवस्था आएमा त्यसको क्षतिपूर्ति भराइने ठेकेदारलाई चेतावनी दिए ।

“मध्यभोटेकोसीले सबस्टेसनसम्मको प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ, सवस्टेसन निर्माण सम्पन्न भएन भने विद्युत् कसरी प्रवाह गर्ने रु यस्तो महत्वपूर्ण सवस्टेसन निर्माणमा ढिलाइ गर्ने रु”, घिसिङले ठेकेदारलाई निर्देशन दिँदै भन्नुभयो ।

प्राधिकरणले मध्यभोटेसीको विद्युत् प्रवाहका लागि अस्थायी वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि बाह्रबिसे सवस्टेसन निर्माण अनिवार्य छ । मध्यभोटेकोसीको विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सवस्टेसनमा जोडिने छ ।

कूल २२० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई बाह्रबिसे सवस्टेसनमार्फत १३२ केभीमा झारिने छ । त्यसपछि २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाले निर्माण गरेको १३२ केभि प्रसारण लाइनमार्फत लामोसाँघु सवस्टेसनमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ ।

माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाले अहिले बाह्रबिसे बजारबाट बाह्रबिसे सवस्टेसनसम्मको करिब चार किलोमिटर प्रसारण लाइन निर्माण गर्न सर्वेक्षण सम्पन्न गरेको छ । आयोजनाले यो लाइन निर्माण गर्न बढीमा चार महिना लाग्ने बताएको छ । यो लाइन बनेपछि अहिले लामासाँघु सवस्टेसनमा जोडिएको आयोजना बाह्रबिसे सवस्टेसनका जोडिने छ ।

कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सवस्टेसन र नयाँ खिम्ती–बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न भएपछि मध्यभोटेकासीको विद्युत् खिम्तीतर्फ प्रवाह गर्न सकिने जानकारी दिनुभयो ।

बाह्रबिसे सवस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, पाँच एमभीएका पावर ट्रान्सफर्मर रहने छन् । घिसिङले बाह्रबिसे बजारबाट सवस्टेसनसम्म जाने करिब साढे चार किलोमिटर सडकको मर्मत तत्काल गरी वर्षा सुरु हुनुभन्दा अघिनै निर्माणस्थलमा उपकरण तथा निर्माण सामग्री ढुवानीको व्यवस्था गर्न निर्देशन दिनुभयो ।

प्रसारण लाइन अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्डमा पर्ने ११८ वटा टावरमध्ये ९० वटा टावरको जग हालिएको छ । ७१ वटा टावर खडा गरिएको छ । १७ दशमलव ५ किलोमिटर तार तानिएको छ । यो लाइन बनाउन पनि बाह्रबिस सवस्टेसनको ठेकेदारले नै पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो ।

प्राधिकरणले चिनियाँ कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर र रु छ करोड १६ लाख ७४ हजार कार्यसम्पादन जमानत जफत गरेको थियो ।

यसैगरी, ठेकेदार कम्पनीले अग्रीम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र रू ६ करोड १६ लाख ७४ हजार बैंक जमानत पनि जफत गरिएको थियो । त्यसपछि प्राधिकरणले गरेको नयाँ बोलपत्र गरी ठेकेदार छनोट गरेको थियो । बाह्रबिसे–लप्सेफेदी खण्डमा पर्ने एक सय २२ टावरमध्ये एक सय ११ वटाको जग हालिएको छ भने चार वटा टावरको जग हाल्ने काम जारी रहेको छ ।

एक सय तीन वटा खडा गरिएको छ । स्थानीयको अवरोधका कारण लप्सीफेदीमा चार वटा टावर निर्माण सुरु हुन सकेको छैन । १२।५ किलोमिटर तार तानिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, रुख कटानी, स्थानीयवासीको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ३ : २३ बजे