बत्तीसै वडामा मेलमिलाप केन्द्र सञ्चालन गर्दै कामपा



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो सबै वडा कार्यलयमा मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउने भएको छ । सबै उजुरीहरू सम्बन्धित वडा कार्यालयमा नै दर्ता हुने भएकाले वडामै मेलमिलाप केन्द्र सञ्चालन गरी समस्या समाधान गर्न लागिएको महानगरले जनाएको छ ।

अहिले वडा नं ३, ४, ८, १०, १४, १५, १६ र २६ बाट सेवा सुरु भइसकेको छ भने केही वडाको आफ्नो कार्यालय भवन नभएकाले भाडाको घर खोज्ने कार्य भइरहेको छ, स्थान प्राप्त भएसँगै सेवा सुरु हुने कामपा सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । उनका अनुसार मेलमिलाप केन्द्र सञ्चालनका लागि छुट्टै स्थान त छैन वडा कार्यलयमा नै मिलाएर केन्द्र सञ्चालन गर्ने र पछि त्यसलाई थप व्यवस्थापन गर्ने गरी काम थालनी गर्न लागिको हो ।

भित्री सहरी क्षेत्रमा कार्यालय सञ्चालनका लागि भवन पाउन कठिन भएकाले हाल वडा कार्यालय सञ्चालनमा नै रहेको भवनबाट केन्द्र सञ्चालन गर्न लागिएको कामपाको भनाइ छ । व्यावसायिक क्षेत्रमा सरकारी कार्यालयलाई ठाउँ दिँदा भाडा थोरै आउने, त्यही ठाउँलाई व्यवसायीले धेरै भाडा दिने भएपछि ठाउँ पाउन कठिन भएको हो । केन्द्र सञ्चालनका लागि कामपाको उपप्रमुख एवं न्यायिक समितिका संयोजक समेत रहनुभएकी सुनिता डङ्गोलसहितको टोलीले ३२ वटै वडा कार्यालयको स्थलगत अवलोकन गरिसकेका छन् ।

प्राप्त उजुरीलाई मात्र आधार मानेर नभई स्थलगत अवस्था हेरेर वडाकै जनप्रतिनिधिको रोहवरमा तालिमप्राप्त मेलमिलापकर्ताबाट स्थानीय विवाद निरुपण गर्न सबै वडामा केन्द्र स्थापना जरुरी भएको कामपाको भनाइ छ । जुन वडामा वहालमा ठाउँ लिन सकिने अवस्था छैन । ती वडामा तत्कालका लागि कार्यालय समय अगाडि–पछाडि बनाएर जनप्रतिनिधि बस्ने कक्ष वा अन्य उपयुक्त कक्षमा मेलमिलाप कक्ष चलाउन सकिने अवलोकनपछि निष्कर्ष निकालिएको छ ।

मेलमिलाप केन्द्र एकान्त वार्ताका लागि गोपनीयता कायम हुने, शान्त र सुरक्षित ठाउँ हुनुपर्छ । पर्याप्त प्रकाश, उपयुक्त तापक्रम, हावा छिर्ने कक्षमा मेलमिलापकर्ताको फोटो र योग्यतासहितको सूची, कम्प्युटर, प्रिन्टर, टेबल कुर्सी, कापी, कलमलगायतको व्यवस्था रहनुपर्छ । साथै कक्षमा पिउने पानी र शौचालयको सुविधा हुनुपर्छ ।

आवश्यकताका आधारमा मेलमिलाप तीन पटकसम्म बस्न सक्नेछ । यदि तीन पटकभन्दा धेरै सत्र सञ्चालन गर्नुपरे वडामा महिला सञ्जालका संयोजकको लिखित स्वीकृति हुनुपर्नेछ । वडामा भएका मेलमिलाप केन्द्रबाट नागरिकलाई राज्यप्रदत्त न्यायिक हक सुनिश्चित हुनेछ । यसबाट कामपाले हेर्न मिल्ने विवादका विषय वडास्तरमा समाधान हुनेछ । यसअघि वडाका धेरै विवाद वडा कार्यलयलाई थाहा नहुने अवस्थासमेत थियो ।
रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ८ : ३५ बजे