माओवादी घटकहरुको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा



काठमाडौं– जनयुद्धकालिन मुद्दाहरुविरुद्ध एकजुट भएका माओवादी घटकहरुको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ ।

बैठकमा माओवादीका आठ घटकका शीर्ष नेता सहभागि छन् । बैठकमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताहरु सहभागी छन् ।

द्वन्द्वकालीन मुद्दामा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि माओवादी घटकका नेताहरु उक्त मुद्दामा एक भएका हुन् । यसअघि २३ फागुनमा बालुवाटारमै बसेको यी पार्टीका नेताहरुको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो । माओवादी घटकका नेताहरु संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत् टुंगो लगाउनुपर्छ भन्नेमा एकमत छन् ।
सरकारले बिहीबारमात्रै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : १५ बजे