महासचिव सी तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित



बेइजिङ । जनगणतन्त्र चीनको राष्ट्रपतिमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का महासचिव सी चिनफिङ निर्विरोध निर्वाचित भएका छन् । यहाँ जारी राष्ट्रिय जनकङ्ग्रेसको १४ औँ महाधिवेशनले उनलाई राष्ट्रपतिमा सर्वसम्मतिले चयन गरेको हो ।

महाधिवेशनले महासचिव सीलाई केन्द्रीय सैन्य आयोग (सिएमसी) को अध्यक्षमा समेत निर्विरोध निर्वाचित गरेको छ ।

राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि उनले ग्रेट हल अफ द पिपलमा संविधानप्रति आफ्नो निष्ठा एवम् प्रतिबद्धता दोहो¥याएका थिए ।

त्यसैगरी, महाधिवेशनले हान झाङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ ।

उनले दुई हजार नौ सय ५२ मत प्राप्त गरेका छन् तथा उनको विपक्षमा एक मत पनि नपरेको जनाइएको छ ।

चिनियाँ नेताहरूले दशकमा एकपटक सत्ता हस्तान्तरण गर्ने परम्परालाई तोड्दै ६९ वर्षीय सी गत अक्टोबरमा तेस्रो पाँचवर्षे कार्यकालका निम्ति सिपिसीको महासचिव बनेका हुन्। संविधानमा दुईपटकभन्दा बढी अवधि राष्ट्रपति बन्न नपाइने व्यवस्थालाई संशोधन गरेर उनी सत्तासिन भएका हुन् ।

गोप्यरुपमा भएको निर्वाचनमा उम्मेदवारको सूची सार्वजनिक भएको थिएन । सबै पदमा निर्विरोध भएको घोषणा गरिएको थियो । यद्यपि ग्रेट हलको विशाल सभागारमा मतपेटिका राखिएका थिए ।
रासस

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ४ : ५६ बजे