उपराष्ट्रपतिमा शाक्यको उम्मेदवारी दर्ता



काठमाडौँ । नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उनले उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता गराएकी हुन् ।

शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट छन् । उनको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवाती न्यौपाने र यशोदा रिजाल रहेका छन् ।

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ । उपराष्ट्रपति निर्वाचनका लागि आज बिहान ९ देखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १ : १३ बजे