जसपाका उपराष्ट्रपतिका उम्मेद्वार रामसहायप्रसाद यादवविरुद्ध एमालेको उजुरी



काठमाडौं– नेकपा एमालेले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको छ ।

उपराष्ट्रपति पदका लागि एमालेबाट उम्मेद्वारी दिएकी अष्टलक्ष्मी शाक्य (बोहरा) को प्रतिनिधि एवं सांसद महेश बर्तौलाले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार उजुरी दर्ता गरेका हुन् ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका पुरुष उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो । यादवको उम्मेदवारी कानुनविपरीत रहेको एमालेले बताएको छ । ‘राष्ट्रपतिमा खसआर्य पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खसआर्य समुदायको पुरुष बाहेकको मात्रै उम्मेदवार हुनसक्छ । त्यसैले सो पदमा पुरुष उम्मेदवार हुन सक्दैन । राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष निर्वाचित हुने परिकल्पना संविधानले गरेको छैन’ एमालेले भनेको छ ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था छ । संविधानको उक्त धारा बमोजिम फरक समुदायको महिलालाई उपराष्ट्रपति पदमा उम्मेदवार मनोनयन गर्ने व्यवस्था मिलाउन संविधान, कानुन र समावेशीकरणको सिद्धान्तअनुरुप अनिवार्य रहेको उजुरीमा उल्लेख छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ७ : १५ बजे