सैनिक कारबाहीमा तीन जना प्यालेष्टिनी मारिए



नाब्लस, (प्यालेस्टाइन क्षेत्र) ।आज यहाँ भएको सैनिक कारबाहीमा तीन जना प्यालेष्टिनी बन्दुकधारी मारिएका छन् । नाब्लस नजिकैको उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकमाथि गोली प्रहार गरेपछि भएको प्रतिकारमा ती प्यालेष्टिनी मारिएका इजरायली सेनाले जनाएको छ ।

“तीन जना बन्दुकधारीले सैनिक अधिकारीमाथि गोली प्रहार गरेपछि उनीहरूलाई निष्प्रभावी तुल्याउन जवाफी कारबाही गरिएको थियो । त्यसक्रममा तीन जना मारिएका तथा एक जना बन्दुकधारीले आत्मसमर्पण गरेको छ,” इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गत वर्षदेखि इजरायल र प्यालेष्टाइनबीच पुनः द्वन्द्व चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुल दक्षिणपन्थी दलहरूको सहयोगमा गत डिसेम्बरमा सत्ता गठबन्धन गरेपछि वेस्ट बैंकको अवस्था ज्यादै खराब भएको छ । यो वर्षको प्रारम्भदेखि भड्किएको द्वन्द्वमा परी बालबालिकासहित ८१ जनाको मृत्यु भएको छ ।

दुवै पक्षका आधिकारिक स्रोतमा आधारित एएफपीको तथ्याङ्कअनुसार सोही अवधिमा तीन जना बालबालिका र एक प्रहरीसहित १२ जना इजरायली र एक जना युक्रेनी नागरिक मारिएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ४ : २१ बजे