न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध लाखौँ इजरायली सडकमा



तेलअविव । न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध हजारौँ इजरायली सडकमा उत्रिएका छन् । जनप्रदर्शनका कारण सडक अवरुद्ध भएका छन् । विश्लेषकहरूले विरोधप्रदर्शनलाई देशको इतिहासमा सबैभन्दा ठूलो सडक अवरोध भनेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने सरकारी योजनाको बचाउ गर्दै अदालतको शक्तिमा अङ्कुश लगाउने परिवर्तनबाट सरकारका अङ्गहरूबीच सन्तुलन कायम हुने दाबी गरेका छन् । विपक्षीहरूले भने त्यसबाट लोकतन्त्र जोखिममा पर्ने बताएका छन् । शनिबारको जुलुसलाई विपक्षी नेता यायर लापिडले इजरायलको इतिहासमा सबैभन्दा ठूलो सङ्कट भनेका छन् ।

शनिबारको विरोध प्रदर्शनमा पाँच लाख सर्वसाधारण सहभागी भएका विरोधप्रदर्शनका आयोजकहरूले दाबी गरेका छन् । देशको सबैभन्दा ठूलो शहर तेलअविवमा दुई लाख मानिसले राष्ट्रिय झण्डा बोकेर प्रस्तावित न्यायिक सुधारको विरोध गरेका थिए । जुलुसमा सहभागी तामिर गुयत्साब्रीले सरकारी योजना न्यायिक सुधार नभएको बताउँदै त्यसले इजरायललाई पूर्ण तानाशाही पद्धतिमा लैजाने टिप्पणी गरेका छन् । उनले आफ्ना सन्तानको स्वतन्त्रताका निम्ति सडकमा आउनुपरेको बताएका छन् ।

त्यसैगरी उत्तरी शहर हाइफामा ५० हजारभन्दा बढी जुलुसमा सहभागी भएका थिए । विरोधप्रदर्शन सरकारी योजनाहविरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शनको दशौँ हप्तामा प्रवेश गरेको छ । दक्षिणी शहर बेरशेवा आयोजित जुलुसमा विपक्षी नेता लापिडले देशले अभूतपूर्व सङ्कटको सामना गरिरहेको बताए ।

“आतङ्कवादको लहरले हामीलाई प्रहार गरिरहेको छ, हाम्रो अर्थतन्त्र ध्वस्तप्रायः भएको छ, देशबाट पैसा पलायन भइरहेको छ । इरानले साउदी अरबसँग हिजो मात्रै नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ तर हाम्रो सरकारले इजरायली प्रजातन्त्रलाई कुचल्ने प्रयास जारी राखेको छ,” तिक्ततापूर्ण इजरायल–इरान सम्बन्धको सन्दर्भ कोट्याउँदै लापिडले भने ।

यसैबीच, अर्को एक घटनामा इजरायली सेनाले वेस्ट बैंक शहर नाब्लस नजिकै तीन सशस्त्र प्यालेष्टिनीलाई गोली हानी मारेको इजरायली सेनाले जनाएको छ । बन्दुकधारीहरूले इजरायली सेनाको चौकीमा गोली चलाएपछि सेनाले जवाफी कारबाही गरेको थियो । प्यालेस्टिनी अधिकारीहरूले घटनाबारे कुनै टिप्पणी गरेका छैनन् । हालैका महिनामा प्यालेष्टाइन र इजरायलबीच हिंसामा उल्लेखनीय वृद्धि भएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुल दक्षिणपन्थी दलहरूको सहयोगमा गत डिसेम्बरमा सत्ता गठबन्धन गरेपछि वेस्ट बैंकको अवस्था ज्यादै खराब भएको छ । यो वर्षको प्रारम्भदेखि भड्किएको द्वन्द्वमा परी बालबालिकासहित ८१ जनाको मृत्यु भएको छ ।
रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ४ : ३५ बजे