जनमोर्चाले संघीयताविरुद्ध चैत १० बाट अभियान चलाउने



काठमाडौं– राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध चैत १० गतेदेखि राष्ट्रव्यापी अभियान संचालन गर्ने निर्णय गरेको छ ।
जनमोर्चाको राष्ट्रिय परिषदको फागुन २७ देखि २८ सम्म बुटवलमा बसेको पहिलो बैठकले संघीयताविरोधी अभियान चलाउने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।
अभियान चैत १० गतेदेखि १५ गतेसम्म संचालन हुनेछ । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने पार्टीले जनाएको छ ।
चैत २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौं, प्रतिगमनका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ । नेपालसहित विश्वभर देखिएको आर्थिक संकटको परिप्रेक्षमा संघीयता आर्थिक रूपले बोझिलो भएका कारण त्यसको खारेजीका लागि संघर्ष गर्ने निर्णय गरेको अध्यक्ष केसीले बताएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : २६ बजे