इतिहास शिरोमणि आचार्यको योगदानको स्मरण



काठमाडौँ । इतिहास शिरोमणि बाबुराम आचार्यको १३६औँ जन्मजयन्तीका अवसरमा उनले नेपालको इतिहास, साहित्य र समालोचनाका क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन’ कार्यक्रमका वक्ताले उनको योगदानका बारेमा चर्चा गरेका छन् ।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले नेपाली साहित्य र समालोचनाको क्षेत्रमा पनि आचार्यको ठूलो योगदान रहेको बताए । विसं १९४८ देखि मोतिराम भट्टले सुरु गरेको समालोचनाको परम्परामा आचार्यको पनि योगदान रहेको उनले चर्चा गरे । नेपाली साहित्यमा इतिहास, समालोचना र यसका प्रवृत्तिको उजागर गर्ने काम गर्नुभएका आचार्य २०२० सालमा प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य बनेका थिए ।

प्रतिष्ठानका पूर्वउपकुलपति डा जगमान गुरुङले नेपाल राष्ट्र र राष्ट्रियताका लागि उहाँबारे धेरै लेख्नु वा बोल्नु नपर्ने बताए । एक आदर्श वाक्यले पनि मान्छेलाई महान् बनाउने उनले बताए। राष्ट्रकवि माधवप्रसाद घिमिरे ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे’ जस्ता वाक्य लेखेरै महान् हुनुभयो, सत्यमोहन जोशीले राष्ट्रिय फूल गुराँस र इरानको राष्ट्रिय फूल गुलाबलाई जोडेर लेखेकैले सत्यमोहन हुनुभएको हो”– पूर्वउपकुलपति डा गुरुङले भने ।

बाबुराम आचार्यले पनि झ्यामोलुङ्मालाई सगरमाथा नामाकरण गरेकैले उहाँ पनि महान् हुनुभएको हो । लामाहरुले झ्यामोलुङ्मालाई बसिरहेकी चरी, लिम्बूले चोमो लुङ्मा चोमो, लुङढुङ्गा (अग्लो ढुङ्गा)नाम दिएका थिए । संस्कृत र नेपालीमा त्यसको नाम नभएकाले बाबुरामले झ्यामोलुङ्मालाई सगरमाथा भन्ने लेख लेखेर राष्ट्रको आवश्यकताको परिपूर्ति गरेका थिए । त्यसैले उनलाई इतिहासशिरोमणि उपाधि दिइएको हो । यसैगरी बाबुरामले पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी लेखेको उनको भनाइ थियो ।

प्रा डा त्रिरत्न मानन्धरले बाबुराम आचार्यले नेपालका लागि जुन योगदान दिनुभयो, त्यो अतुलनीय रहेको बताए । एसियाली अनुसन्धान केन्द्रबाट प्रकाशित बाबुराम आचार्य र उनका कृति पुस्तकमा केही पत्रहरु प्रकाशित भएको र त्यसबाट पनि उनका कति कृति प्रकाशन गर्न बाँकी रहेको प्रष्ट हुन्छ । पूर्वराजदूत राजेश्वर आचार्यले इतिहासको ज्ञान खाली इतिहासको विषय पढ्नेसँग मात्रै सम्बन्ध नरहेको बताए । मान्छेलाई इतिहास, भूगोल, धर्म र संस्कृतिको ज्ञान चाहिने उनको भनाइ थियो । प्रा डा सुरेन्द्र केसीले पञ्चायतकालमा लेख्न नपाइने अवस्थामा पनि बाबुराम आचार्यले इतिहास लेखन र संशोधन गर्ने काम गरेको बताए ।

प्रा दिनेशराज पन्तले बाबुरामलाई राजा त्रिभुवनले नै इतिहासशिरोमणि उपाधि दिएको उल्लेख गरे । प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बाबुराम आचार्यका बारेमा विस्तृत र विहङ्गम छलफलका लागि कार्यक्रम आयोजना गरिएको बताए।

प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले विगत १३ वर्षदेखि बाबुरामको स्मृति दिवस मनाउँदै आइएको उल्लेख गर्दै यस प्रतिष्ठानले भन्दा नेपाल प्रज्ञा प्रतिष्ठानले उनको बारेमा बढी काम गरेको बताए । सामाजिक शास्त्र विभाग प्रमुख डा कौशीला रिसालले बाबुराम आचार्यले पु¥याउनु भएको योगदानको चर्चा गर्दै राणाकालीन समयमा पनि निडरताका साथ इतिहास लेखनमा सक्रियता देखाउनु भएकोले इतिहासशिरोमणि भन्न पाइएको बताइन् ।
रासस

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ४ : ५७ बजे