नेपाल–भारत सम्वन्ध बलियो बनाउन दुई राष्ट्रपतिको संवाद, पौडेलले दिए मुर्मूलाई नेपाल भ्रमणको निम्ता



काठमाडौं– भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले नेपाली नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई टेलिफोन संवाद मार्फत् शुक्रबार बधाई दिएकी छन् । राष्ट्रपति मुर्मूले टेलिफोन संवाद गरी वधाई दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतको केरला राज्यको भ्रमणमा रहेकी मुर्मूले राष्ट्रपतिमा पदभार ग्रहण गरेकोमा पौडेललाई शुक्रबार बधाई दिएकी हुन् । भारतको राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार संवादका क्रममा राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपति मुर्मूले विश्वास व्यक्त गरेकी थिइन् ।

‘दुवै राष्ट्रपतिहरुले नेपाल र भारतबीचको विशिष्ट र बहुआयामिक सम्बन्ध रहेको उल्लेख गरे,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूले द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने र हाम्रा दुई देशका जनताबीचको मित्रताको बलियो सम्बन्धलाई थप सुदृढ गर्ने उपायहरूबारे पनि छलफल गरे ।’

राष्ट्रपति पौडेलका प्रमुख स्वकीय सचिव डा. सुरेश चालिसेका अनुसार, संवादको क्रममा राष्ट्रपति पौडेलले मुर्मूलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । साथै पौडेलले पशुपतिनाथ दर्शनका लागि पनि मुर्मूलाई निमन्त्रणा दिएका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : २० बजे