ईयूसहित ७० भन्दा बढी देशद्वारा अफगान महिला अधिकार र शिक्षाबारे चिन्ता व्यक्त


रासस

६ चैत्र २०७९, सोमबार  

57
Shares

काबुल । युरोपेली सङ्घ (ईयू) सहित ७० भन्दा बढी देशले अफगान महिला उनीहरू अधिकार र शिक्षाबाट बञ्चित हुनुपरेको भन्दै यसप्रति चिन्ता व्यक्त गरेका छन् ।

तालिबानले देशमा महिलालाई दमन गर्ने र उनीहरूका मौलिक अधिकारलाई कुण्ठित गर्ने कार्य जारी राखेका बेला ईयूसहित ७० भन्दा बढी देशले उक्त चासो व्यक्त गरेका हुन् । यी प्रतिबन्धले अफगानिस्तानको आर्थिक, सामाजिक स्थायित्व र विकासलाई कमजोर बनाएको उनीहरूले बताएका खामा प्रेसले उल्लेख गरेको छ ।

‘खामा प्रेस’का अनुसार घरेलु तथा अन्तर्राष्ट्रिय गैरसरकारी समूहका लागि काम गर्ने अफगानी महिलामाथि लगाइएको प्रतिबन्धले लाखौं अफगानीलाई मानवीय सहायता प्राप्त गर्नबाट रोक्ने उनीहरूले जनाएका छन् ।

शिक्षा र महिलाका अन्य मौलिक अधिकारमाथिको प्रतिबन्धले समावेशी शासन व्यवस्था र मानव अधिकारको मान्यतालाई कमजोर बनाइरहेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२१ को अगष्ट १५ देखि महिला र बालिकाको आवतजावतको स्वतन्त्रतामा प्रतिबन्ध लगाइएको छ । यसले बालिकाहरूलाई माध्यमिक शिक्षामा भाग लिनबाट रोकेको छ, अधिकांश कार्यबलबाट बाहिर राखेको छ र सार्वजनिक पार्क, जिम र बाथरुमप्रयोग गर्न निषेध गरेको छ ।

अफगानिस्तानमा महिलाहरूलाई शिक्षा लिने अधिकारबाट बञ्चित गरिरहेको सन्दर्भमा हालै इस्लामिक सहयोग सङ्गठन (ओआईसी) ले महिलाको शिक्षाको अधिकारबारे छलफल गर्न र शासनसँग काम गर्न विद्वानहरूको एक टोली पठाउने तयारी गरेको टोलोन्यूजले जनाएको छ ।

इस्लामिक सहयोग सङ्गठनका महासचिव हिसेन ब्राहिम ताहाले मौरिटानियामा इस्लामिक सहयोग सङ्गठनको बैठकको पहिलो दिन विद्वानहरूको टोलीको घोषणा गरेका छन् ।

मार्च १६ र १७ मा मौरिटानियामा भएको ४९ औं ओसीआई बैठकमा करिब ४० देशले प्रतिनिधि पठाएको टोलोन्यूजले जनाएको छ ।

टोलोन्यूजका अनुसार अफगानिस्तानको इस्लामिक इमिरेट्सका प्रवक्ता जबीउल्लाह मुजाहिदले देशमा महिलामाथि अन्यायपूर्ण व्यवहार भइरहेको भन्ने दाबीको खण्डन गर्दै भने, “हामी महिलाका मुद्दालाई ध्यानमा राखेर शिक्षा र रोजगारीमा हाम्रा समस्याहरू समाधान गर्ने प्रयास गरिरहेका छौं । प्रयास जारी छ तर यसमा समय लाग्छ । यो समस्या चाँडै समाधान हुनेछ ।”

तालिबानले सन् २०२२ मार्च २३ मा सबै विद्यालयहरू खोल्ने वाचा गरेको थियो, तर त्यस दिन उनीहरूले फेरि एक पटक बालिकाहरूका लागि माध्यमिक संस्थाहरू बन्द गरेका छन् ।

तालिबान सरकारले यी विद्यालयहरू कहिले खुल्ने छन् वा प्रतिबन्ध अनिश्चितकालीन रहने छ भन्नेबारे अझै केही बताइएको छैन ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ९ : ०० बजे