आख्यानकार रवीन्द्र समीरको नयाँ उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक



काठमाडौँ । आख्यानकार रवीन्द्र समीरको नयाँ उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक भएको छ । चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिरपरिचित उनको सो सूत्र उपन्यासमा वैश्विक महामारी कोरोनासँग सम्बन्धित अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यङ्ग्य गरिएको छ ।

महामारीको यो अत्यासलाग्दो विभीषिकालाई शब्दमा सङ्गठित गर्दै कल्पना मिसेर व्यङ्ग्यात्मक शैलीमा लेखिएको सूत्रउपन्यास वर्तमान पुस्ताका लागि आफूले भोगेको विगत तथा भावी पुस्ताका लागि महामारीको गतिलो इतिहास हुनेछ । लघुकथाका थुँगाहरूलाई पृथक् आयामबाट एउटै सूत्रमा उनेर बनाइएको माला जस्तो यो उपन्यास भित्र पृथक् अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् । तिनलाई समयको डोरीले बाँधेर सूत्रउपन्यास बनाइएको हो । वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, शय्या र अक्सिजन अभाव, सरकारी अकर्मण्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई उपन्यासमा बुनिएको छ ।

कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएको छ । पुस्तकको केन्द्रीय पात्र डा शर्माको भोगाइ तथा अनुभवले उपन्यास निकै बाँधिएको छ । कोरोना भाइरसले कोरोनातन्त्रका गरेको शासनलाई पुस्तकमा सुललित रूपमा उतारिएको छ । इन्डिगो इन्कले बजारमा ल्याएको सो पुस्तक महामारीको जीवन्त दस्तावेजका रूपमा रहने विश्वास गरिएको छ ।

कोरोनाकालमा लेखकले चिकित्सकका हैसियतले नेपाल सरकारका विभिन्न निकायका साथै जनताका घरदैलामा स्वयंसेवक भई सेवा गरेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ५ : १२ बजे