बेलायतका राजा चार्ल्स तृतीय भोलि जर्मनी भ्रमणमा जाँदै


रासस

१४ चैत्र २०७९, मंगलबार  

0
Shares

लण्डन । बेलायतका राजा चार्ल्स तृतीय जर्मनीको तीनदिने भ्रमणमा बुधबार बर्लिनर्फ प्रस्थान गर्दै छन् । देशको राजसिंहासन सम्हालेपछि हुनलागेको यो उनको पहिलो विदेश भ्रमण हो । भ्रमणमा उनका साथ रानी क्यामिला पनि रहनेछिन् ।

यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोधप्रदर्शनका कारण उनको भ्रमण स्थगित भएको थियो ।

नजिकका छिमेकी मुलुकको भ्रमण गर्ने राजाको निर्णयअनुसार चाल्र्स जर्मनीतर्फ प्रस्थान गर्न लागेका हुन् । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले बेलायतका राजाको भ्रमणलाई दुई देश र जनताबीचको घनिष्ठ एवम् हार्दिक मैत्रीको प्रतीक भनेका छन् ।

राजा चाल्र्सले बिहीबार जर्मनीको सङ्घीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनले हालै युक्रेनबाट आएका शरणार्थीलाई पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ । उत्तरी बन्दरगाह शहर ह्याम्बर्गमा नवीकरणीय ऊर्जा परियोजनाको अवलोकन गरेर राजदम्पति शुक्रबार स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ४ : ४२ बजे