खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार: नवनियुक्त अर्थमन्त्री डा महत



काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा प्रकाश शरण महतले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार हुने बताएका छन् ।

मन्त्रालयमा कार्यभार सम्हाल्दै अर्थमन्त्री डा महतले अहिले तत्कालका लागि सबै क्षेत्रको मनोबल उकास्नु सरकारको पहिलो प्राथमिकता हुने बताए । “हामीले आत्मविश्वास बढाउनुपर्नेछ । अहिलेको निराशालाई आशामा बदल्नु छ । त्यसका लागि मौद्रिक नीति र वित्त नीतिको समन्वयकारी भूमिका रहन्छ । नेपाल राष्ट्र बैंकलगायत सबै निकाय र कर्मचारीको सहयोग चाहिन्छ । हामी गर्न सक्छौँ (वी क्यान डु इट) भन्ने भावनाले काम गरौँ ।”, अर्थमन्त्री महतले भने । सकारात्मक आत्मविस्वास जगाउन सके अर्थतन्त्रमा विस्तारै सुधारका सङ्केत देखिने उनको विश्वास छ ।

लक्ष्यअनुसार राजस्व उठ्न नसकेको, सार्वजनिक खर्च बढिरहेको, लगानी खस्कँदै गएको, बाह्य क्षेत्र बिग्रिँदै गएको, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव, चर्को ब्याजदरलगायत समस्या रहेको उल्लेख गर्दै उनले यस्ता समस्या समाधानका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयकारी भूमिका रहनुपर्ने बताए ।

“अर्थ मन्त्रालय र राष्ट्र बैंकले समन्वयकारी भूमिकाबाटै समस्या समाधान गर्ने हो । हामीले नतिजामा आधारित भएर काम गरौँ । हाम्रो मूल्याङ्कन पनि त्यसरी नै हुन्छ । अहिले आफ्ना लागि सोच्नेभन्दा पनि देश र जनताका लागि सोच्नुपर्ने बेला छ ।”, अर्थमन्त्री महतले भने । अर्थ मन्त्रालय र राष्ट्र बैंक सक्रिय भएर मात्र नतिजा निकाल्न नसकिने बताउनुहुँदै उनले समग्र राज्य संयन्त्र नै एकाकार भएर लाग्नुपर्ने बताए ।

मुलुकमा लगानीको वातावरण बिग्रँदै गएको र उत्पादनको लागत महँगो भएको उल्लेख गर्दै उनले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए । सार्वजनिक खर्चमा मितव्ययितासँगै योजना र कार्यक्रमको प्राथमिकीकरण गर्न पनि आवश्यक रहेको उनको भनाइ छ । सार्वजनिक खर्च कटौती गर्नुपर्ने र पुँजीगत खर्चमा पनि आवश्यकता निर्धारण गरेर बजेट खर्च व्यवस्थापन गर्नुपर्ने मन्त्री महतले बताए । उनले भने, “अहिले राजस्व निकै कम छ । जहाँतही खर्च गर्ने नभइ आवश्यकताका आधारमा मात्रै खर्च निर्धारण गर्नुपर्नेछ । के अत्यन्त महत्वपूर्ण छ र बढी प्रतिफल दिन्छ भनेर आयोजना कार्यक्रमको प्राथमिकीकरण गर्नुपर्नेछ ।” अफ्ठ्यारोमा परेको परिवारले आफ्ना आवश्यकता निर्धारण गरेजस्तै अहिले मुलुकको अर्थतन्त्र अफ्ठ्यारोमा परेको बेला सरकारले पनि त्यहीअनुसार खर्चको प्राथमिकता निर्धारण गर्ने अर्थमन्त्री डा महतको भनाइ छ ।

राजस्व व्यवस्थापन अहिले अर्थतन्त्रको चुनौती रहेकाले त्यसलाई पनि गम्भीरताका साथ हेर्नुपर्ने उनले बताए । भन्सार सीमा नाकाबाट भइरहेको चोरी पैठारी नियन्त्रण र अर्थतन्त्र चलायमान बनाएर करको दायरा विस्तार हुनसके लक्ष्यअनुसार राजस्व उठ्ने उनको भनाइ छ । “आर्थिक गतिविधि बढेसँगै राजस्व पनि बढ्छ । राजस्व अनावश्यक उठाएर करदातालाई बढी कर लगाउनभन्दा करको दायरा बढाउनेतर्फ हामी केन्द्रित हुन्छौँ । भन्सार नाकामा हुने चोरी पैठारी नियन्त्रणका लागि हाम्रा संयन्त्र परिचालन गर्न आवश्यक छ ।”, उनले भने । बाह्य क्षेत्रको असन्तुलन बढिरहँदा अन्तर्राष्ट्रिय द्विपक्षीय र बहुपक्षीय विकास साझेदारसँग पनि पर्याप्त छलफल र समन्वय गर्न आवश्यक रहेको उनको भनाइ छ ।

कार्यभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिदै अर्थमन्त्री महतले सकारात्मक ऊर्जाका साथ नतिजामुखी काममा लाग्न बताए । “अर्थतन्त्र सुधारका लागि म एक्लैले मात्र केही गर्नसक्ने होइन । सबै निकायको भूमिका उत्तिकै जिम्मेवार छ । हामी सम्पूर्ण शक्ति लगाउँछौँ । सबैको साथ चाहिन्छ ।” उनले भने ।

नवनियुक्त अर्थमन्त्री डा महतको जीवनी
नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महत विसं २०१६ कात्तिक १९ मा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलासमा जन्मिएका हुन् ।

फुलब्राइट छात्रवृत्तिअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी (पिएचडी) गरेका डा महत हाल नेपाली कांग्रेसको प्रवक्ता तथा केन्द्रीय सदस्य हुन् ।

कक्षा–७ मा अध्ययनरत रहँदादेखि नै नेपाल विद्यार्थी सङ्घमा लागेका उनले २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्रमोर्चामा रहेर काम गरेका थिए । विसं २०४२ को सत्याग्रहमा सक्रिय भूमिका खेलेका डा महत त्यसबेला नेपाल विद्यार्थी सङ्घको महासचिव थिए।

कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । पार्टीले दिएका जिम्मेवारीहरू कुशलतापूर्वक पूरा गर्ने उनले विसं २०५६ देखि कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गरेका थिए भने २०५९ सालदेखि निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् ।

उनले २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका सफलतापूर्वक सम्पन्न गरेका थिए ।

विसं २०६३ को अन्तरिम व्यवस्थापिकाको सदस्यबाट संसद्को यात्रा आरम्भ गरेका डा महतले पहिलो र दोस्रो संविधानसभामा सदस्य थिए । त्यसैगरी विसं २०७० देखि २०७४ सम्म विधायकको रुपमा रहेका थिए । हाल उनी प्रतिनिधिसभाको सदस्य छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहकारका रुपमा विसं २०५८ देखि २०५९ सम्म काम गरेका डा महतले राष्ट्रि«य योजना आयोगको सदस्यका रुपमा पनि काम गरेका थिए ।

उनले यसअघि परराष्ट्र मन्त्री, उर्जामन्त्री र परराष्ट्र राज्यमन्त्रीका रूपमा रहेर काम गरेका छन् । नी उर्जामन्त्री रहेका बेला राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने तथा ढल्केवार–मुजफ्पुर ४०० के.भी. प्रशारण लाइन निर्माणको निर्णय गरेका थिए ।

त्यस्तै परराष्ट्रमन्त्री हुँदा उनको पहलमा चीनसँगको बिआरआई सम्झौताका साथै नेपालले गण्डक सम्झौताबाट पाउनुपर्ने सुविधाका लागि कुरा उठाइ भारतीय पक्षलाई प्रतिबद्ध गराएका थिए । नेपालको कूटनीतिक सन्तुलनका लागि महत्वपूर्ण काम गरेका थिए ।

मुलुकको अर्थतन्त्रमा चुनौती आइरहेको वर्तमान अवस्थामा उनी देशको अर्थमन्त्री बनेकाले अर्थशास्त्रमा विद्यावारिधी गरेका डा महतले आगामी दिनमा यो चुनौतीलाई सामना गर्नेगरी काम गर्नुपर्ने चुनौती थपिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १० : ३९ बजे