गम्भीर विधेयकहरुमा राष्ट्रिय सहमति खोज्ने सभामुखको प्रयास, तीन प्रमुख नेतासहितको वैठक सकारात्मक



काठमाडौं– सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्याय निरूपण सम्बन्धी (टिआरसी) विधेयकमा सहमति जुटाउने प्रयास शुरु गरेका छन् । सत्तापक्ष र प्रतिपक्ष सवैको सहमतिमा संक्रमणकालिन न्यायलगायतका अन्य महत्वपूर्ण विधेयक अघि बढाउन उनले ठोस पहल लिएका हुन् ।

सभामुख घिमिरेको निमन्त्रणामा शनिवार उनको सभाकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच संसद र सरकार सञ्चालनका वारेमा महत्वपूर्ण भेटवार्ता भएको हो । निर्वाचित भएपछि सभामुखले गरेको उच्च राजनीतिक संवाद हो ।

छलफलमा सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगसम्वन्धि विधेयकलाई अघि बढाउनेवारेमा तीन नेतानै सहमत भएपनि कसरी अघि बढाउने भन्नेमा फरक धारणा व्यक्त भएको थियो । प्रधानमन्त्री प्रचण्डले यस सम्वन्धि विधेयकलाई फास्टट्रयाकबाट अघि बढाउन चाहेको बताएका थिए । तर एमाले अध्यक्ष ओलीले यस्ता गम्भीर विषयलाई त्यसरी अघि बढाउन नहुने भन्दै समितिमा लगेर छलफल गरेर सहमतिमै अघि बढाउनुपर्ने बताएका थिए ।

बैठकपछि ओलीले भन्नुभयो,‘छलफल सकारात्मक भयो । सक्रमणकालिन न्यायसम्वन्धि विधेयकलाई फाष्टट्रयाकबाट बढाउनु उचित हुँदैन । छलफल गरेरै अघि बढाउनुपर्छ भन्ने कुरा भएको छ । बिभिन्न बिज्ञसँग समेत सुझाव लिएर छलफलपछि नै प्रतिनिधिसभाबाट पारित गर्नुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले भने फेरी अर्को बैठक तय गरिएको र त्यहाँबाट यसमा थप छलफल गरेर अघि बढ्ने सहमति भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकबाट पारित गर्ने प्रस्तावमा एमालेले नमानेपछि बीचको बाटो खोज्ने प्रयास भइरहेको र यसका लागि विज्ञहरूको पनि सहायता लिइने बताए । नेताहरुवीच चैत २८ गते पुनः छलफल हुने भएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : ४७ बजे