दिदीबहिनी मृत फेला घटना : सात प्रहरी नियन्त्रणमा



रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो ।

एघार वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशङ्कामा प्रहरीले संकास्पद सातजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिनुभयो । दुवैजनाले लगाएको गहना लुटपाट भएकाले उनीहरुको हत्या गरिएको हुनसक्ने आशङ्का गरिएको छ ।

दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको नाम ठेगाना प्रहरीले खुलाएको छैन ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  १ : ४० बजे